जिल्लाभरबाट ४० विद्यार्थी एसइईमा सहभागी हुँदै

मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ । 

विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताए । उनका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन् । उनले भने, ‘एसइईका लागि विद्यालय खुलाइसकेका छौँ । बिदा लम्बिँदा विद्यार्थीलाई समस्या हुन्छ । यसलाई मध्यनजर गरेका छौँ ।’

उनले नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति आवासीय माध्यमिक विद्यालय फागुन १ गतेदेखि खुलेको जानकारी दिए । चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशंकर माध्यमिक विद्यालय माघ २३ देखि र चामे–४ चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय माघ २८ गतेदेखि पठनपाठन सुरु भएको उनको भनाइ छ । 

यस वर्ष मनाङबाट प्रकाशज्योतिका १९, लोकप्रियका १७, अन्नपूर्ण माविका एक र लोकप्रिय  माविबाट (खुला) तीन गरी ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुने प्रमुख चपाईंले बताए । मनाङमा चारवटा मात्रै माध्यमिक विद्यालय छन् । 

यस वर्षको एसइई परीक्षालाई मध्यनजर गरी जाडो भए पनि विद्यालय छिटो खुलाइएको प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले बताए । उनले भने, ‘एसइई परीक्षा दिने विद्यार्थीको पठनपाठनलाई लक्षित गरी विद्यालय चाँडै खुलाएका हौँ । चिसो भए पनि विद्यार्थीलाई पठनपाठनमा प्रभाव पर्नसक्ने विषयलाई मध्यनजर गरेका छौँ ।’ जाडो बिदाका समयमा पनि लमजुङको च्याम्चेमा विद्यार्थीको घरमै पठनपाठन गराइएको उनले बताए ।  

प्रधानाध्यापक पन्थीले भने, ‘आवासीय विद्यालय भएकाले लमजुङका बच्चा पनि मनाङमा पढ्न आउँछन् । मनाङको सिमानामै पर्ने च्याम्चेका केही विद्यार्थी हाम्रैमा पढ्छन् । जाडो बिदाका समयमा च्याम्चेमा घर खोजेर पढायौँ । एसइई परीक्षालाई विशेष रूपमा लिइने हुँदा हामी पनि लागिरहेका छौँ । विद्यार्थी उत्कृष्ट र सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदा हाम्रो गौरव बढ्नेछ ।’
    
वार्षिक परीक्षा पनि आइसकेको र पठनपाठनमा लाग्नुपर्ने भएकाले बिहान दुई घण्टा र बेलुका दुई घण्टा तालिका बनाएर विज्ञान, गणित, अंग्रेजी र ऐच्छिक गणित पढाउने गरेको प्रअ पन्थीले बताए । एसइईका विद्यार्थी पठनपाठनमा व्यस्त हुने र साना बालबालिका हिउँमा खेल्दै पढ्ने गरेको उनको भनाइ छ । 



आवासीय विद्यालय भएकाले समय व्यवस्थापनमा समस्या नभएको उनले बताए । पालिकाले ५० लाख वार्षिक बजेट छुट्याएर विद्यालयलाई सहयोग गर्दै आइरहेको छ । आवासीय विद्यालय भएकाले प्रतिविद्यार्थी एक हजार पाँच सय मासिक शुल्क भने लिने गरेको उनले बताए । 

यसका अतिरिक्त १२ जना विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराएको विद्यालयले जनाएको छ । सञ्चालनमा नआएका विद्यालयका शिक्षकलाई काजमा ल्याएर पठनपाठन गरिरहेको पन्थीले जानकारी दिए । 



मनाङका अन्य विद्यालय फागुन १५ पछि मात्रै खुल्नेछन् भने नार्पाभूमि गाउँपालिकाका विद्यार्थीको पठनपाठन काठमाडौंमा सञ्चालन भइरहेको छ । वार्षिक परीक्षा सकाएर नतिजा प्रकाशन गरी नयाँ शैक्षिक सत्रका लागि वैशाखमा सञ्चालन गरिने नार्पाभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनीषा विकले जानकारी दिइन् । 
    
उनले भने, ‘एक त विकट छ । सदरमुकामबाटै जान दुई दिन लाग्छ । सडक सञ्जाल पुगेको छैन भने अर्कोतर्फ यहाँ अहिले बाक्लो हिउँ छ । चिसो अत्यधिक भएकाले गाउँ फर्किने अवस्था छैन । त्यसैले यहीँ चालू शैक्षिक सत्र सकाएर मात्रै फर्कन्छौँ । यसले विद्यार्थीलाई पनि सहज भएको छ ।’ 

गौरीशंकर मावि कक्षा ७ मा अध्ययनरत विद्यार्थी छुपी गुरुङ हिउँसँग खेल्दै पढ्न पाउँदा खुसी लागेको बताउँछिन् । उनले भनिन्, ‘हिउँ परे पनि रमाइलो गरी खेल्दै पढ्न पाएका छौँ ।’ 

मौसम चिसो भए पनि हिउँ खेल्दै पढ्न पाएको कक्षा ८ मा अध्ययनरत विवेक गुरुङले बताए । ढिलागरी परेको हिमपातले चिसो बढे पनि विद्यार्थी शिक्षाबाट प्रभावित हुन नदिने गरी विद्यालयमा पठनपाठन भने सञ्चालन गरिएको छ । 

  • प्रकाशित मिति : फागुन १२, २०८० शनिबार १९:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया