logo-img

श्रीदेवीलाई हेर्न जब अफगानिस्तानमा रकेट फायर रोकियो...

बलिउडकी पहिलो महिला सुपरस्टार श्रीदेवीको निधन भएको आज ६ वर्ष पुगेको छ । ठूला आँखा, सुन्दर अनुहार र स्वरकी धनी श्रीदेवीले आफ्नो अभिनयले पितृ सत्तात्मक उद्योगलाई पल्टाइदिएकी थिइन् । 

चार वर्षको उमेरदेखि अभिनयसँग जोडिएकी श्रीदेवीले आफ्नो जीवनका ५० वर्ष फिल्मलाई दिइन् । उनले यो समयावधिमा पद्म श्री, नेशनल अवार्ड, फिल्मफेयर, लाइफटाइम अचिभमेन्टलगायतका कैयौं सम्मान पाइन् ।

उनको निधन २४ फेब्रुअरी सन् २०१८ मा दुबईमा भएको थियो । उनी र पति बोनी कपूर भतिजको विवाहका लागि दुबई पुगेका थिए । निधनको अघिल्लो दिन उनका पति बोनी भारत फर्किए पनि श्रीदेवी भने दुबईमै बसेकी थिइन् । यही बीचमा बोनी अचानक श्रीदेवीलाई सरप्राइज दिन त्यहाँ पुगे । जुन कुराले श्रीदेवी निकै खुसी थिइन् ।

दुवैजना रोमान्टिक डेटमा जाने तयारीमा थिए । जसका लागि तयार हुन श्रीदेवी बाथरुम गइन् । तर, उनी त्यहाँबाट फर्किइनन् । १० मिनेटसम्म पनि श्रीदेवी नफर्किएपछि  बोनी बाथरुममा हेर्न गए । तर, ढोकामा भित्रबाट चुकुल लागेको र कुनै जवाफ नआएपछि उनले ढोका तोडे । 

उनले श्रीदेवीलाई बाथटबमा बेहोस अवस्थामा भेटे । पानीमा डुबेकी श्रीदेवीको निधन भइसकेको थियो । श्रीदेवीसँग जोडिएका धेरै किस्सा बलिउडमा अझै चर्चित छन् । फिल्म ‘खुदा गवाह (१९९२)’ को सुटिङका लागि अफगानिस्तान पुग्दाको किस्सा झनै रोचक छ । श्रीदेवी र अमिताभ बच्चन यो फिल्म सुटिङ गर्न अफगानिस्तानका कैयौं हिस्सामा पुगेका थिए । त्यो समयमा अफगानिस्तानमा युद्ध भइरहेको थियो । 

जहाँतहीँ गोलीबारी र मिसाइलको प्रयोग भइरहेका थिए । मानिस घर बाहिर निस्कन डराइरहेका थिए । सोभियत संघले अफगानिस्तानलाई आफ्नो कब्जाबाट हटाएपछि देशको जिम्मेवारी नजीबुल्लाहलाई दिएको थियो । उनी त्यहाँको राष्ट्रपति बने । 



नजीबुल्लाह भारतीय फिल्मका ठूला प्रशंसक थिए । यही बेला अमिताभ र श्रीदेवीको फिल्म सुटिङका लागि उनीहरूले त्यहाँको सरकारसँग अनुमति मागे र अनुमति पनि पाए ।

उनीहरूले अनुमति पाए पनि त्यहाँको अवस्था खराब थियो । जब अमिताभ र श्रीदेवी सुटिङका लागि अफगानिस्तानको बुजकशीस्थित मजार–ए–शरीफ पुगे । राष्ट्रपति नजीबुल्लाहले अफगानिस्तानका आधा सेना अमिताभ र श्रीदेवीको सुरक्षाका लागि प्रयोग गरे ।



फिल्मको सुटिङ हेर्नका लागि अफगानिस्तानका मानिसको भीड जम्मा हुने गर्थ्यो । कैयौंपटक यस्तो पनि भयो कि श्रीदेवीलाई हेर्नका लागि अफगानिस्तानमा गोली चल्न बन्द हुन्थ्यो र त्यहाँका स्थानीय बिना भय सुटिङ हेर्न घर बाहिर निस्कन्थे ।

सुटिङ सकिएपछि भने गोलीबारी फेरी सुरु हुन्थ्यो । एकपटक अफगानिस्तानका मिलिटेट कमान्डर रकेट फायर गर्न लागेका थिए । तर, श्रीदेवीको सुटिङमा समस्या नहोस् भनेर उनले फायरिङ रोकेका थिए । यही कारण अफगानिस्तानका मानिस श्रीदेवीलाई शान्तिकी प्रतीक पनि मान्छन् । 

अमिताभ र श्रीदेवी सुटिङ सकेर भारत फर्कन लाग्दा राष्ट्रपति नजीबुल्लाहले दुवैलाई ‘अर्डर अफ अफगानिस्तान’बाट सम्मान गरेका थिए । 

  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया