logo-img

माओवादी बैठकमा कांग्रेस महासमितिकाे तरंग, राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिन नहुनेमा जाेड

नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकले पारित गरेका विषयले नेकपा माओवादी केन्द्रकाे बैठकमा तरंग ल्याएकाे छ । बैठकमा अधिकांश स्थायी समिति सदस्यले कांग्रेससँगको सहकार्यबारे  पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्।

माओवादीकै मत पाएर पहिलो पार्टी भएको कांग्रेसले गठबन्धनमाथि नै धावा बोल्नु अनैतिक काम भएको भन्दै अधिकांश स्थायी कमिटी सदस्यहरूले आपत्ति जनाएकाे  प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन्।

हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकबारे चर्चा भएकाे र त्यही विषयसँग जोडिएर राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिन नहुने विषयमा धारणा आएकाे उनले बताए । कांग्रेसले नेता कृष्ण सिटौलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने तयारी गरेको छ। 

गत फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेस महासमिति बैठक सम्पन्न भएकाे थियाे । बैठकमा महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने प्रतिवेदन ल्याएका थिए। साे प्रतिवेदनबारे कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा आपत्ति जनाएका थिए । तर महामन्त्री थापाले प्रतिवेदनकाे मूल मर्म नै त्यही रहेकाले कुनै हालतमा परिवर्तन नगर्ने अडान लिएपछि देउवाले प्रधानमन्त्रीसमेत रहेका  माओवादी अध्यक्ष पुष्पकमल दाहाललाइ भेटेर गठबन्धन नटुट्ने  आश्वासन दिएका थिए । 

प्रचण्डलाइ आश्वस्त पारेपछि पधािधकारी बैठकमा फर्किएका देउवाले महामन्त्री थापाकाे प्रतिवेदनमा सहमति जनाएका थिए । महामन्त्री थापाले महासमितिमा पेस गरेको प्रतिवेदनमा '०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक-शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं' भनेर लेखेका थिए । साे प्रस्ताव महासमिति बैठकले सर्वसम्मत रूपमा पारित गरिसकेकाे छ । 

माओवादीकाे स्थायी कमिटी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनबारे पनि चर्चा भएकाे थियाे । उनले माओवादीले सशस्त्र संघर्षबारे लेख्दै माओवादीको हिंसात्मक गतिविधिका कारण देश पछाडि धकेलिएको निष्कर्ष प्रतिवेदनमा लेखेका थिए।



माओवादी स्थायी कमिटी सदस्यहरूले कांग्रेसले सनातन हिन्दु राष्ट्रको एजेण्डालाई महासमिति बैठकमा प्रवेश गराएर प्रतिगमनलाई सघाउने प्रवृत्ति देखाएको निष्कर्ष निकालेका छन्। कांग्रेस महासमितिमा सनातन हिन्दु राष्ट्रको माग गर्दै १ हजार ६३ महासमिति सदस्यहरूले सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका थिए।

 स्थायी कमिटी सदस्यहरूले उठाएका सवालमा अध्यक्ष प्रचण्डले केही बाेलेका छैनन् । उनले बुधबारको बैठकमा यसबारे धारणा राखेपछि कांग्रेससँगकाे सहकार्यबारे निष्कर्ष निस्कने बताइएकाे छ ।



  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया