logo-img

पर्यटनमन्त्रीको गति : आत्मप्रचार अति, काममा शून्य प्रगति
विवादैविवादकाे चाङमाथि बसेर कति दिन हल्लाइरहने मन्त्रीकाे झण्डा ?

‘भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट पदमा बस्दिनँ’ यो भनाइ हो–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको । उनी भ्रष्टाचार विरुद्धमा सबैभन्दा धेरै बोलिरहने नेतामा पर्छन् । तर, ‘हात्तीको देखाउने दाँत र खाने दाँत छुट्टै हुन्छ’ भनेजस्तै उनको पनि दुई रूप देखिएको छ । सधैँ भ्रष्टाचार विरूद्धमा वकालत गरिरहने उनै मन्त्री किराती स्टन्ट र विवादमा मुछिँदै आएका छन् । यहाँसम्म कि उनले कतिपय काम कमिसनका लागि गरेको भन्दै सदनमा सत्ता पक्षकै नेताले उनको राजीनामाको माग गर्दै आइरहेका छन् । 

आइतबार (फागुन १३)को प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिसन खाने काममा लागेको बताए । उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो ? जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो ? भन्दै प्रश्न गरे ।

‘पर्यटनमन्त्री नयाँ जहाज किन्नुपर्यो भनेर हिँडिरहनुभएको छ । अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो ? कुन अवस्थामा लैजाने हो ? यो बारेमा सोच्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘ट्विनअटर क्यानडाबाट दुई तीनवटा किन्ने अहिले निर्णय भएको छ । झन्डै त्यो आफ्नै समितिले नेपाल एयरलाइन्सको नेपाल वायुसेवा निगमको आफ्नै समितिले ल्याउनसक्ने अवस्था छैन, ती जहाज उत्पादन हुन छोडिसकेका छन्, भन्दा टेण्डर एक महिनाअघि लागू गरिएको छ । रिपोर्ट अनक्वालिफाइड भनिसकेको छ । जुन जहाजहरू अहिले उत्पादनमा छैनन्, थ्रि हन्ड्रेड जी भन्ने जहाज ल्याइँदै छ, जुन अहिले प्रोडसनमा छैन । त्यसमा झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागिएको छ । तैपनि मन्त्रीज्यू असाध्यै सुधार गर्न लागेको आश्वासन दिँदै हिँड्नुभएको छ ।'

सांसद खतिवडाले पर्यटनमन्त्रीकाे सस्ताे प्रचारबाजीकाे पनि आलाेचना गरे । भने, 'एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा प्रवेश गर्ने र फोटो खिचेर प्रवेश गर्ने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो सभामुख महोदय ? सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभी लिएर जाने र त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास हुन्छ ?’

साथै, सांसद खतिवडाले सरकारले सुशासनको नाममा ल्यारक्याल लामाजस्ता व्यक्तिलाई लुम्बिनी विकास कोषमा नियुक्ति गरेको पनि बताए । उनले उनले शान्तिका दूतको क्षेत्रमा लकरमा गोली राख्ने मानिसहरूलाई नियुक्ति गर्नु लज्जाजनक रहेको बताए ।



सत्तापक्षका सांसद खतिवडाले मात्र नभई प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि पर्यटनमन्त्री किरातीको राजीनामा माग गरे । उनले राजीनामा माग्दै भने, ‘गौतम बुद्धको एक मात्रै अस्तु भएको ठाउँ रामग्राम कुनै एउटा निजी कम्पनीलाई लिजमा दिने पर्यटनमन्त्रीको अध्यक्षतामा भएको छ । त्यसैले ९९ वर्षको लागि लिजमा दिने, त्यहाँ उसले व्यवसाय गर्ने । त्यसैले नैतिक जिम्मेवारी उहाँको हुनुपर्छ । लेखा समितिले स्थगित गर्न भनेको छ । तर, स्थगित गरेर मात्रै हुँदैन, यसमा नियतहरू छन् । को–को व्यक्तिको संलग्नता छ । कसका घरबेटी संलग्न छन् सबैले देखेका छन् । म त्यतातिर जान चाहन्न ।’



यो त पर्यटनमन्त्री किरातीको राजीनामा माग गर्ने केही प्रतिनिधि पात्र मात्र हुन् । संसदमै खतिवडा र भट्टराईबाहेकका अरू सांसदले पनि पटक–पटक उनको राजीनामाको माग गर्दै आएका छन् । पछिल्लो समय उनको राजीनामा माग सडकदेखि सदनसम्म हुन थालेको छ । 

स्टन्ट र विवादमा रुमल्लिएका मन्त्री 

भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा माओवादी केन्द्रका नेता सुदन किराती ३ माघ ०७९ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका भए । मन्त्रीको शपथग्रहण गर्नुभन्दा अघि नै उनले सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेखे । जसले सबैको ध्यान खिच्यो । सामाजिक सञ्जालमा उनले आफ्नो पितासँग गरेको कुराकानीका केही अंश लेखेका थिए । कुराकानीमा उनले पितालाई भनेका थिए, ‘पद पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो । म मिहिनेत गर्छु ।’

त्यसपछि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बेला उनले अर्को एउटा ‘स्टन्ट’ गरे । मन्त्रालयको गेटमै सहयोग पेटिका राख्दै त्यहाँबाट उठेको पैसा दुर्गम हिमाली जिल्लाको शिक्षामा सदुपयोग गर्ने । खादा, माला र पुष्पगुच्छाको सट्टा त्यसबरारबर रकम चन्दा बाकसमा खसालेर सहयोग गर्न उनले आग्रह पनि गरे । नीतिनिर्माणको तहमा पुगेका मन्त्री किरातीले दुर्गम क्षेत्रमा कसरी शिक्षाको पहुँच पुर्याउने भन्ने नीति निर्माण गर्नुका साटो चर्चामा आउन उनले चन्दा बाकस राखे । उनको कार्यकाल १३ महिना पूरा भइसकेको छ । यस दौरानमा उनले उड्डयन क्षेत्रको सुधारमा अपेक्षाकृत काम गर्न सकेको देखिँदैन । कामभन्दा पनि अनेक स्टन्ट र विवादमा निरन्तर तानिएका छन् । 

लकरमा गोली राख्ने लामालाई लुम्बिनी कोषको उपाध्यक्ष 

लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित डा. ल्यारक्याल लामा नियुक्त गर्न पर्यटनमन्त्री किरातीको पनि हात रहेको बताइन्छ । कांग्रेस हुँदै एमाले र दोस्रो संविधानसभा चुनावमा माओवादी प्रवेश गरेका ल्यारक्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यतिखेरै समानुपातिक सांसद बनाइदिएका थिए । उनीमाथि दोहोरो नागरिकता र राहदानी बनाएको आरोप छ । साथै ठगी तथा हातहतियारसम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने व्यक्ति पनि हुन्, लामा ।

हुन त ल्यारक्याललाई उपाध्यक्ष बनाउने खेल प्रधानमन्त्री प्रचण्डले नै गरेका हुन् । तर, प्रधानमन्त्रीले लामाको नाममा टिप्पणी उठाउन र मन्त्रिपरिषद्मा पेस गर्न पर्यटनमन्त्री किरातीलाई निर्देशन दिएका थिए । तर, लामा विवादमा मुछिएका व्यक्ति हुन् भन्ने जान्दाजान्दै पनि किराती प्रधानमन्त्रीको निर्देशनमा ‘ब्याक’ हुन सकेनन् । अन्ततः लामा उपाध्यक्ष भइछाडे । लामालाई कोषको उपाध्यक्ष नियुक्त गर्दा किरातीको छवि खस्कियो । 

रामग्राम स्तुप ९९ वर्षका लागि लिजमा  

गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्र ९९ वर्षका लागि लिजमा दिने निर्णय भएको थियो । लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेको थियो । यसमा पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमतिबीच विवादित कोषका उपाध्यक्ष ल्यारक्यालले प्रक्रिया अघि बढाएका थिए ।

त्यो पनि प्रधानमन्त्री पुष्पकमल दाहालनिकटका ठेकेदार शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी प्रमिस्ड ल्यान्डलाई स्तुप क्षेत्रको विकास, संरक्षण र उत्खनन् समेतको जिम्मा दिने सहमति भएको थियो । विना प्रतिस्पर्धा स्तुप क्षेत्र ९९ वर्षका लागि लिजमा दिने विषयले स्थानीय राजनीतिक दल र रामग्रामसँग सरोकार राख्नेहरूले व्यापक विरोध गरे । बौद्धग्रन्थअनुसार बुद्धका आठवटा अस्तुधातुमध्ये एउटा मात्र सिंगो भाग रहेको रामग्राम स्तुप हो । संसारका बौद्धमार्गीका लागि यो स्तुपको ठूलो महत्व छ । व्यापक विरोध भएसँगै यो विषय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा पुग्यो । र, लेखा समितिले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तुप निर्माण गर्न विनाप्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिनेगरी भएका सम्पूर्ण प्रक्रिया रद्द गर्न निर्देशन दियो । 

जहाज खरिदमा कमिसनको दाउ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) अर्बौँ रुपैयाँ ऋणमा छ । ऋणकै कारण निगमलाई धानिन हम्मे परेको वर्षौं भइसक्यो । आर्थिक भारले डुब्दै गएको भन्दै यसलाई सार्वजनिक संस्थानबाट निजीकरण गर्ने चर्चा पनि बेला–बेलामा चल्ने गरेको छ । यहीबीच किरातीले वायु सेवा निगमका जहाजको व्यवस्थापन नै नगरीे तीनवटा नयाँ ट्विनटर जहाज खरिद गर्ने निर्णय गरे । त्यसको टेण्डर भइसकेको छ । 

रित्तिँदै गएको ढुकुटी र अर्बौं ऋणको भारी बोकिरहेको बेला किराती यो निर्णय लिए । अर्थ मन्त्रालयले असहमति जनाउँदाजनाउँदै पनि मन्त्री किराती जसरी पनि खरिद गर्ने जिद्दी गरिरहेका छन् । जहाज किन्ने निर्णय भएपछि सरकारकै कतिपय मन्त्री र सांसदले पनि प्रश्न उठाइरहेका छन् । तर, उनी सार्वजनिक कार्यक्रमै जहाज किन्ने निर्णयबाट ब्याक नहुने जिकिर गर्दै आएका छन् । विमानस्थल बनाएको एक वर्ष नाघिसक्दा पनि अझै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन सकेको छैन । यसतर्फ भने किरातीको ध्यान जान सकेको छैन । 

पशुपति विकास कोष नियुक्ति विवाद 

किरातीले पशुपति विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरे । मन्त्री किरातीको अध्यक्षतामा भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । कोषको कार्यकारी निर्देशक बन्ने पुनको योग्यता नै थिएन । किरातीले निर्देशकमा पुनलाई नियुक्त गरेसँगै सांसदहरूले विरोध गरे । साथै, योग्यता र अनुभव नपुगेको भन्दै पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरे । 

न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्यो । मरासिनीले दायर गरेको रिटमाथि उच्चले माघ ७ गते सुनुवाइ गर्दै पुनको व्यक्तिगत विवरण उल्लेखित योग्यता र अनुभव कोषको ‘कर्मचारी सेवा सर्त तथा सुविधासम्बन्धी नियमावली, २०४५’ मा उल्लेख भएअनुसारको नभएको भन्दै अन्तिम टुंगो नलाग्दासम्म कोष परिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै अन्तरिम आदेश दियो ।  

क्रिश्चियन धर्म मोह 

४ पुस (बुधबार)मा गरेको एउटा भाषणका कारण पर्यटन मन्त्री किरातीको सर्वत्र आलोचना भयो । काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा उनले गरेको भाषण विवादित बनेको हो । मन्त्री भएदेखि नै विभिन्न स्टन्टबाजी देखाउँदै आएका मन्त्री किरातीका योभन्दा अघिका भाषण पनि विवादित बन्दै आएको थियो । 

तर, उक्त कार्यक्रममा भिन्न धार्मिक आस्था राख्ने समुदायको भावनामा चोट पुर्याउने तरिकाले उनले भाषण गरे । धार्मिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा किरातीले क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू ‘संविधानविरोधी’ भएको र संविधान नमान्नेहरू ‘देशद्रोही’ भएको टिप्पणी गरे । उनले कार्यक्रममा भनेका थिए, ‘क्रिश्चियन नमान्नु भनेको संविधान नमान्नु हो । संविधान नमान्नेलाई हतकडी लगाउनुपर्छ ।’

यो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको भएको भन्दै आफ्नै पार्टीका नेतादेखि प्रतिपक्षी नेता र सर्वसाधाणले समेत आपत्ति जनाए । किरातीलाई मन्त्रीबाट हटाउनुपर्ने आवाज पार्टीपंक्तिमै उठ्यो । यस्तो अभिव्यक्ति दिँदै गर्दा उनले आफ्नो पदीय मर्यादा पनि भुले । 

नाट्येश्वरीको १५ रोपनी जग्गा हडप्ने प्रयास

मन्त्री किरातीकै कार्यकालमा बालमन्दिरबाट १५ रोपनी जग्गा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा ल्याइएको थियो । उक्त जग्गा एउटा निजी व्यापारिक कम्पनीलाई ३० वर्षसम्म भोगचलन गर्न दिने तयारी गरिएको थियो । किरातीकै चाहनामा उक्त जग्गामा व्यावसायिक प्रयोजनका लागि नयाँ भवन बनाएर निजी क्षेत्रलाई ठेक्कामा दिने अन्तिम तयारी भएको थियो । तर, बजार मूल्यभन्दा निकै कम मूल्यमा लिजमा दिने तयारी भएको समाचार बाहिरिएपछि सो प्रयास सफल हुन सकेन । यसमा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आएकी थिइन् । ​

अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई दिने तयारी 

मन्त्री किरातीले काठमाडौं, पोखरा, भैरहवा र प्रस्ताव गरिएका अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको जिम्मा निजी वा विदेशी कम्पनीलाई दिनुपर्ने तर्क अघि सारेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले अबको सात वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नधान्ने बताउँदै विमानस्थल व्यवस्थापनको जिम्मा दिनु अत्यावश्यक भएको बताएका थिए । जसका लागि अध्ययन समितिसमेत गठन भइसकेको छ । तर, विमानस्थल आफैँमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्र हो । अन्तर्राष्ट्रिय व्यापार, आवगमन, सुरक्षा, आर्थिक सामाजिक रूपान्तरणका लागि विमानस्थल संवेदनशील पूर्वाधार भएका कारण पनि सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिन नहुने तर्क विज्ञहरू गरिरहेका छन् । 

विमानस्थल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने चर्चा सुरु भएसँगै भारतीय अर्बपति गौतम अडानीको अडानी समूहले चासो देखाएको थियो । केही समयअघि अडानी समूहका प्रतिनिधि र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीबीच पिपिपी मोडलबारे छलफल पनि भइसकेको छ । अन्तर्राष्ट्रिय विमानस्थल कम्पनीलाई भाडामा दिने प्रस्ताव गरेसँगै उनलाई माफियाको सेटिङमा विमानस्थल निजी क्षेत्रलाई दिने तयारी गरेको आरोपसमेत लाग्दै आएको छ ।

सस्तो लोप्रियताका लागि कार्यकक्ष सफा 

यही फागुण ५ गते मन्त्री किरातीले आफ्नो कार्यकक्ष आफैँ सफा गरेको भिडियो सार्वजनिक भयो । सामाजिक सञ्जालमा सेयर गरिएको उक्त भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ । सधैँझैँ निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरू पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ । उनको यस्तो भिडियो सार्वजनिक भएपछि धेरैले ‘सस्तो लोकप्रियता’का लागि कार्यकक्ष सफा गरेको भन्दै आलोचना गरे ।  

 

प्राधिकरणका महानिर्देशकसँग विवाद

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग पनि मन्त्री किरातीको हार्दिक सम्बन्ध हुन सकेन । प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक दुई फरक निकाय बनाउने विषयमा मन्त्री किराती र महानिर्देशक अधिकारीबीच सुुरुदेखि नै विवाद भइरहेको थियो । मन्त्री किरातीले अधिकारीलाई पदीय जिम्मेवारी वहन गर्न नसकेको विषयमा स्पष्टीकरण सोधे । किराती प्राधिकरणलाई टुक्र्याउनुपर्ने पक्षमा थिए भने अधिकारी सेवाप्रदायक र नियामक निकाय छुट्याउन नहुने पक्षमा उभिँदै आएका थिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकएत (समाजवादी)का अध्यक्ष माधव नेपाल र प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट अधिकारीले किरातीलाई अटेरी गरिरहे । उनीहरूको सम्बन्ध जोड्न प्रधानमन्त्री प्रचण्डले नै हस्तक्षेप गर्नुपरेको थियो  ।

प्रधानमन्त्री भ्रमणमा विवाद 

गत जेठ १७ गतेदेखि भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री प्रचण्ड २० गते स्वदेश फर्किए । त्यहीबीचमा किरातीले एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन भएको अभिव्यक्ति दिए । 

किरातीले भ्रमणतर्फ संकेत गर्दै भनेका थिए,‘मैले दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको थिएँ । त्यही भएर भारत नगएको हो ।’ यस्तो अभिव्यक्तिपछि उनको कुर्सी नै धरापमा परेको थियो । उनको यो अभिव्यक्तिप्रति गम्भीर हुँदै प्रचण्डले ‘लोकप्रियताका लागि जथाभावी बोल्दै नहिँड्नू’ भनेर हप्काएका पनि थिए । 

यी त केही उदाहरण मात्रै हुन् । १३ महिनाको कार्यकालमा मन्त्री किराती कहिले आफ्नै कार्यकक्षमा पोछा लगाएको भिडियो सार्वजनिक गरेर भारइल हुन्छन्, कहिले जथाभावी बोलेर विवादमा आउँछन् त कहिले आफ्नो अनुकूलताको निर्णय लिएर ।

पहिलोपटक मन्त्री, एकपछि अर्को गल्ती 

नेकपा माओवादी केन्द्रका नेता सुदन किराती मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका थिए । उनी ०६४ मा संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए भने ०७० सालमा पराजित बने । पुनः ०७४ मा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका उनी पुनः ०७९ को निर्वाचनमा भोजपुरबाटै निर्वाचित भए । 

त्यसपछि प्रधानमन्त्री प्रचण्डले उनलाई मन्त्री बनाए । उनी मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । 

  • प्रकाशित मिति : फागुन १५, २०८० मंगलबार १९:२०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया