वाफको फाइनलमा जोर्डनसँग भिड्दै नेपाल, उपाधि खडेरी तोड्ने मौका

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज जोर्डनको सामना गर्दैछ । नेपाल र जोर्डनबीचको खेल राति ९ः४५ देखि साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल–फैसल स्पोर्ट्स सिटीको मैदानमा सुरु हुनेछ । 

दुवै टिम अपराजित रहेर उपाधिका लागि भिड्न लागेका हुन् । नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ तथा जोर्डनले प्यालेस्टाइनलाई ५–० ले हराएका थिए । यस्तै, समूह चरणमा नेपालले सिरियालाई ४–१, इराकलाई ५–० तथा प्यालेस्टाइनलाई ४–० ले हराउँदा जोर्डनले साउदी अरेबियालाई ३–१, गुआमलाई ३–० र लेबनानलाई २–० ले स्तब्ध पार्‍यो ।  

जोर्डन गत संस्करणको विजेता टिम हो । उसले हालसम्म पाँचपटक वाफ च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाल भने पहिलोपटक यो प्रतियोगिता खेलिरहेको हो । नेपाललाई पहिलो सहभागितामै उपाधि जित्ने मौका छ । हालसम्म नेपाली महिला टिम विभिन्न १० वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन । 

नेपाल यसपटक विगत फाइनलको गल्तीमा सुधार गर्दै उपाधि जित्ने दाउमा छ । यद्यपि टिमकी प्रमुख सदस्य सावित्रा भण्डारी साम्बाले फाइनल नखेल्ने भएकाले नेपाललाई उपाधि सपना पूरा गर्न कठिन हुन सक्छ । क्लबमा अनुबन्धित खेलाडीले फिफा विन्डोमा रहेको टोलीको खेलमा मात्र अनिवार्य सहभागिता हुन पाउने प्रावधान छ । 

जसअनुसार सावित्राले फाइनल गुमाउने भएकी हुन् । उनी हाल फ्रान्सको क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । क्लबको खेल आउँदो शनिबार भएकाले अभान्टले सावित्रालाई वाफ खेल्न अनुमति नदिएको हो । ​वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको थियो ।

सेमिफाइनल खेल फिफा विन्डोभन्दा बाहिर रहे पनि अभान्टले सो खेल खेल्न अनुमति दिएको थियो । तर, शनिबार हुने क्लबको खेल पनि जित्नैपर्ने भएकाले वाफ फाइनलका लागि भने अभान्टले सावित्रालाई अनुमति दिएन । उनले जारी वाफमा चार खेलमा सर्वाधिक ९ गोल गरेकी छन् ।      





  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार ६:५१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया