कहाँ खर्च हुन्छ प्रहरी कल्याण कोषकाे रकम ? कति छ मौज्दात ?

पछिल्लो समय प्रहरी कल्याण कोषबाट लाभान्वित हुनेको संख्या बढ्दो छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा मात्र प्रहरी कल्याण कोषबाट २२ हजार आठ सयजना सहयोग गरेको नेपाल प्रहरीले जनाएको छ । तीमध्ये शिक्षातर्फ जेहेन्दार छात्रवृत्ति ३० जना, उच्च छात्रवृत्ति एक सय २२ जना, उच्च प्रोत्साहन छात्रवृत्ति दुईजना र शैक्षिक कर्जा ६ जनाले पाएका छन् । यसैगरी सामाजिक सुरक्षातर्फ ज्येष्ठ निवृत्तिभरण दुई सय ४० जना, किरिया कर्म खर्च दुई सय १३ जना, मृत्यु राहत अनुदान ५० जना र विवाह अनुदान तीनजनाले पाएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल बताउँछन् । 

उनका अनुसार स्वास्थ्यतर्फ औषधि उपचार अनुदान ५८ जना, निर्ब्याजी उपचार सापटी चारजना र औषधोपचार कर्जाबाट एकजना लाभान्वित भएका छन् । यसैगरी सहुलियत ऋणतर्फ सहुलियत नगद ऋण रकम तीन हजार ६ सय ४७ जना र घर निर्माण तथा मर्मतसम्भार कर्जा ५३ जनालाई उपलब्ध गराइएको छ । साथै किस्ताबन्दी सहुलियत ऋणतर्फ नयाँ/पुरानो चारपांग्रे कार/जिप १५ जना, मोटरसाइकल/स्कुटर पाँच सय ८९ जना र घरायसी सामानको सुविधा ८६ जनाले लिएका छन् । तालिम तथा वृत्ति विकास प्रदेश स्तरीय कल्याण कोषबाट सञ्चालितमा सीपमूलक तालिम ६७ जनाले हासिल गरेका छन् ।

अन्य सेवा सुविधातर्फ प्रहरी आवास सुविधा ३६ जना, प्रहरी अतिथिगृह एक हजार एक सय एकजना, नेपाल पुलिस हेल्थ क्लब सात हजार ८० जना, ज्येष्ठ प्रहरी अतिथि गृह दुई सय ६० जना र नेपाल पुलिस स्कुल नौ हजार एक सय ४७ जनाले प्राप्त गरेका छन् । यस्तै, प्रहरी कर्मचारी युएन मिसन जाँदा उपलब्ध हुने सुविधा २३ जनाले प्राप्त गरेका छन् ।

यसरी कोषको सुविधाबाट बहालवाला र सेवानिवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्य लाभान्वित भएको केन्द्रीय प्रहरी प्रवक्ता ढकाल बताउँछन् । ‘यस कोषबाट धेरैजना लाभान्वित हुँदै आएका छन्,’ उनी भन्छन्, ‘प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै अघि बढ्ने हाम्रो नीति हो । यसबाट प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि हुनका साथै समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने अपेक्षा छ ।’

नेपाल प्रहरीले प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै व्यापक विकास र विस्तार गर्ने नीति अघि सारेको छ । नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर÷सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । 



अझै कल्याण कोषबाट उपलब्ध हुने सुविधा बढाउन नेपाल प्रहरी प्रयासरत रहेको उनी बताउँछन् । ‘अझै कल्याण कोषबाट उपलब्ध हुने सुविधा बढाउन हामी निरन्तर लागि परिरहेका छौँ,’ प्रवक्ता ढकाल भन्छन्, ‘कल्याण कोषसम्बन्धी सम्पूर्ण व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाबाट हुने गर्छ । व्यवस्थापनलाई चुस्त राख्न महाशाखाअन्तर्गत विभिन्न शाखाहरू तथा नेपाल पुलिस क्लब, नेपाल पुलिस हेल्थ क्लब, प्रहरी कल्याण कोष पेट्रोल पम्प, नेपाल प्रहरी स्कुललगायत निकाय क्रियाशील छन् ।’

नागरिक सेवामा व्यस्त हुनुपर्ने र अधिकांश समय घर परिवारदेखि टाढा खटिनुपर्ने भएकोले प्रहरी कर्मचारीहरू घर परिवारलाई समय दिन पाउँदैनन् । उनीहरू र आश्रित परिवारलाई आर्थिक अभाव नहोस् र मनोबल उच्च होस् भन्ने उद्देश्यले प्रहरीले कल्याणकारी कार्यक्रम सञ्चालन गरेको प्रवक्ता ढकाल बताउँछन् । साथै सेवानिवृत्त प्रहरी कर्मचारी तथा तिनका आश्रित परिवार र अशक्त तथा अमर प्रहरी परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्रमा आर्थिक सहयोग प्रदान गर्न कोषले मद्दत पुर्याएको छ । अझ खेलकुदको विकासलगायत विविध कल्याणकारी क्षेत्रहरूमा लगानी गर्ने, आयमूलक तथा सेवामूलक कल्याणकारी कार्यक्रमहरूको विस्तार गर्ने लक्ष्य रहेको पनि उनको भनाइ छ । 



कल्याण कोषबाट प्रहरीले सञ्चालनमा ल्याएको पेट्रोल पम्प, हेल्थ क्लब, व्यापारिक भवन, नेपाल पुलिस स्कुलबाट समेत योगदान हुँदै आएको छ । यी सेवाबाट सर्वसाधरण समेत लाभान्वित हुँदै आएको उनी बताउँछन् ।  

प्रहरी कल्याण कोषमा कति छ मौज्दात ? 

०३९ सालमा सुरु भएको प्रहरी कल्याण कोष ०५२ सालमा दर्ता भई सञ्चालनमा छ । १८ वर्षसम्म गैरसरकारी संस्थाको रूपमा सञ्चालनमा रहेको प्रहरी कल्याण कोषको व्यवस्था प्रहरी नियमावली, २०७१ को नियम १९४ मा समावेश भई हाल सोही नियमावलीअन्तर्गत कल्याण कोष सञ्चालन कार्यविधि बनाई प्रहरी कल्याण कोष सञ्चालनमा रहेको छ । प्रहरी संगठनका वहालवाला र सेवानिवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरू र अमर÷सहिद प्रहरी परिवारका सदस्यका लागि स्वास्थ्य, शिक्षा, आर्थिक र सामाजिक तथा वृत्ति विकास क्षेत्रलगायत अन्य विविध कल्याणकारी क्षेत्रमा समयानुकूल सेवा प्रदान गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । 

नेपाल प्रहरीको कल्याणकारी कोषमा रहेको रकम पछिल्लो समय बढ्दो छ । कोषमा हाल साढे चार अर्बबराबरको रकम मौज्दात रहेको केन्द्रीय प्रहरी प्रवक्ता ढकाल बताउँछन् । उनका अनुसार उक्त रकम बैंकसँगै विभिन्न क्षेत्रमा लगानी गरिएको छ । 

कहाँबाट आउँछ प्रहरीलाई पैसा ? 

प्रहरीको कल्याणकारी कोषमा एफपियू र अनपोल मिसनमा सहभागी प्रहरी कर्मचारीबाट हुने योगदान रकम, एफपियू मिसन बन्दोबस्तीबापत युएनबाट प्राप्त हुने शोधभर्ना रकम, विशेष आर्थिक कल्याणकारी ऋण सहुलियत कार्यक्रमबाट आर्जन हुने ब्याजबापतको रकम जम्मा गरिन्छ । यस्तै, किस्ताबन्दी सहुलियत (सामान) ऋण कार्यक्रमबाट आर्जन हुने ब्याज, प्रहरी पेट्रोल पम्पबाट हुने वार्षिक आम्दानी, चौतारा सिन्धुपाल्चोक, भृकुटीमण्डप काठमाडौं, भरतपुर चितवन, पुतलिबजार स्याङ्जा, बुटवल र बेलहिया रुपन्देही साथै नेपालगञ्ज बाँकेमा रहेका सपिङ कम्प्लेक्सहरू तथा सटर कवलबाट प्राप्त हुने भाडा रकम, सामाखुसीको आवासगृह, भृकुटीमण्डप र नेपालगञ्जस्थित अतिथिगृहको भाडा रकम, भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लबबाट हुने आम्दानी पनि कोषमा जम्मा गरिन्छ । 

त्यसैगरी नेपालगञ्जस्थित माछापोखरी तथा रातोमाटे, बा.प्र.स.प्र.ग.मु. हेटौँडाको हाताभित्र एनटिसीको बिटिएस टावर राखेबापत प्राप्त हुने भाडा रकम, स्टिकर, परिचयपत्र बिक्रीबाट हुने आम्दानी, विभिन्न बैंकहरूमा रहेको कोषको मौज्दात रकमबाट आर्जन हुने ब्याज रकम, फिल्म सुटिङका लागि उपलब्ध गराइने सुविधाबापत प्राप्त हुने गरेको रकम तथा अन्य कुनै स्रोतबाट कानुनबमोजिम कोषलाई प्राप्त हुन आउने चल–अचल सम्पति पनि कोषमा जम्मा गरिन्छ । 

प्रहरी कल्याण कोष सञ्चालक समितिमा प्रहरी महानिरीक्षक संरक्षक रहने प्रावधान छ । प्रहरी नियमावली, २०७१ को नियम १९४ अन्तर्गत प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० बमोजिम कोष सञ्चालन भइरहेको छ । 

कहाँ-कहाँ हुन्छ खर्च ? 

कोषले विभिन्न सामाजिक कल्याणकारी तथा सीपमूलक कार्यक्रम, गम्भीर प्रकृतिका रोगबाट ग्रसित कर्मचारीहरूको औषधोपचार अनुदान, किरियाकर्म खर्च, अमर प्रहरीका छोरीलाई विवाह अनुदान, कल्याण कोष ज्येष्ठ प्रहरी भत्ता, छात्रवृत्ति, आर्थिक सहयोग, राहत सामग्रीवितरण, सीपमूलक तालिमप्रदान, सर्वसुलभ र गुणस्तरीय शिक्षाप्रदानका लागि पुलिस स्कुल सञ्चालन आदि कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

यस्तै, प्रहरीका बहालवाला, सेवानिवृत्त कर्मचारी एवं तिनका आश्रित परिवारहरू र अमर सहिद प्रहरी परिवारका सदस्यहरूलक्षित कार्यक्रम स्वास्थ्य, शिक्षा, सहुलियत (नगद÷सामान) कर्जा, आर्थिक अनुदान, खेलकुद, घर निर्माण तथा मर्मतसम्भार कर्जा, चारपांग्रे, दुईपांग्रे सवारीसाधन खरिद कर्जालगायत विविध सामाजिक कल्याणकारी क्षेत्रहरूमा समेत सेवा दिँदै आएको छ । पछिल्लो समय प्रहरी कल्याण कोषबाट धेरैले राहत पाउँदै आएका छन् । 

अझै प्रहरी कल्याण कोषको बारेमा सार्वजनिक चासो, चिन्ता र सकारात्मक आलोचनाको उच्च मूल्यांकन गर्दै आगामी दिनमा समेत कल्याण कोषको रकम बहालवाला तथा पूर्वप्रहरी कर्मचारीहरू तथा आश्रित परिवारको हकहितमा प्रचलित ऐन, नियम तथा कार्यविधिमा व्यवस्था भएबमोजिम पारदर्शी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता उनी व्यक्त गर्छन् । 

  • प्रकाशित मिति : फागुन १७, २०८० बिहीबार १८:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया