logo-img

आफैँले जारी गरेको संविधानबारे प्रथम राष्ट्रपतिले भने– समयसापेक्ष  संशोधन जरुरी

पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिएका छन् । सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

 ‘संविधान कार्यान्वयनका चुनौती र आजको राजनीति’ विचारगोष्ठी कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान जारी गर्न स्व. कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे । 

‘वर्तमान संविधान जारी हुनुमा निष्ठावान् र इमानदार राजनीतिज्ञ तत्कालीन प्रधानमन्त्री कोइरालाको भूमिका महत्तवपूर्ण छ । उहाँ अनुशासित एवं तपस्वी नेता हुनुहुन्थ्यो,’ पूर्वराष्ट्रपति यादवले भने । 

त्यस अवसरमा पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने भन्दै त्यसको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको धारणा राखे । धेरैले वर्तमान संविधान जारी गर्नबाट रोक्ने प्रयास गरेको उल्लेख गर्दै उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सफल नेतृत्वकै कारण संविधान जारी भएको बताए । 

पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो संघर्ष र सफल नेतृत्वका कारण संविधानमा बहुलवाद, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिकालगायतका विषय समावेश गर्न सफल भएको स्मरण गरे । उनले संविधानमार्फत व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकाले समयसापेक्ष संविधान संशोधन जरुरी रहेको बताए । 

संविधानसभा सदस्य एवं पूर्वमन्त्री रोमी गौचनले संविधान सम्झौताको दस्तावेज भएकाले समयअनुसार संशोधन गर्दै सबैका लागि स्वीकार्य बनाउनुपर्नेमा जोड दिए । उनले स्व. कोइराला एक इमानदार नेता रहेको भन्दै वर्तमान संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गरे । 



राजनीतिक विश्लेषक प्रा. कृष्ण हाछेथुुले स्व. कोइराला दूरदर्शी नेता भएकाले संविधान जारी हुनसकेको बताए । उनले संविधानलाई गतिशील बनाउन समयसापेक्ष संशोधन पनि जरुरी भएको उल्लेख गरे । 
    
फाउन्डेसनकी अध्यक्ष मृदुला कोइरालाले स्व. कोइराला लोकतन्त्रको लडाइँमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै दलका नेताहरुलाई एक ठाउँमा ल्याई संविधान जारी गर्न सफल भएको चर्चा गरिन् । 



  • प्रकाशित मिति : फागुन १९, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया