जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णय जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक प्रदीप यादवले फागुन ३० गते प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने बताए । बैठकले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री दाहालले फागुन ३० गते बुधबार विश्वासको मत लिँदै छन् । यसअघिको नेपाली कांग्रेससँगको गठबन्धन टुटेसँगै काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।
कांग्रेसले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् । नयाँ गबठन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरिसकेका छन् ।
एमालेले भने ह्विप जारी गरेको छैन । यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई निर्देशन दिँदै प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।