logo-img

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड [भिडियोसहित]

पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए । फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो । मध्यान्हपख घोषणा समारोह सुरु भयो । 

समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए । ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे । 

धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि...’ सुनाए । गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा...’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे । औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्लिए । समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे । अरुलाई एकवटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए । 

पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर...’ र दोस्रो ‘बोलामाया...’ । देशविदेशका साङ्गीतिक प्रस्तुतिमा भ्याइनभ्याइ उनी प्रधानमन्त्री प्रचण्डसामु भने पहिलोपटक गीत गाउँदै थिए । सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए । उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे । 

‘प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु’, सपुतले भनेका थिए । उनको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे । 

गायक सपुतको ‘बोलमाया...’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरुको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो । प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए । सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे । 



समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि सङ्घ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए । उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए । 



  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया