logo-img

गौर हत्याकाण्डको १७ वर्ष : उपेन्द्र यादवमाथि अझै पनि झुण्डिएकै छ - छानबिनको तरबार [भिडियोसहित]

त्यो आजकै दिन थियो–चैत ७ । वर्ष २०६३ । ठाउँ थियो–पूर्वी तराई रौतहटको गौर ।

वर्ष २०५४ देखि मधेसी जनअधिकार फोरम नामक गैरसरकारी संस्थामार्फत राजनीतिक कसरत थालेका उपेन्द्र यादवले । पूर्वी तराईमा आफूलाई राजनीतिक रूपमा स्थापित गर्ने प्रयास गर्दै थिए । एनजिओको साइनबोर्डमा रहेको फोरम त्यसको १० वर्षमै २०६४ को संविधानसभाको चुनावमा भाग लिन आइपुग्दा राजनीतिक पार्टीका रूपमा देखियो ।

एनजिओबाट राजनीतिक दल नबन्दै उपेन्द्रले आफूलाई ‘मधेसको मसिहा’ भन्न थालिसकेका थिए । २०६३ पुसतिर आइपुग्दा उपेन्द्र लगायत केही व्यक्तिहरूले काठमाडौंमा सार्वजनिक रूपमा अन्तरिम संविधान जलाउन थाले । यही बिन्दुबाट मधेस आन्दोलन सुरु भयो । माओवादी शान्ति प्रक्रिया हुँदै खुला राजनीतिमा आएको थियो । तर उसमा उद्दण्डता कायमै थियो । तराईमा फोरमतिर भिन्न र विशेष आकर्षण थियो । त्यहाँ उपेन्द्रको फोरमको बढ्दो प्रभाव निमिट्यान्न पार्ने ध्याउन्नमा माओवादीका मातृकाप्रसाद यादवदेखि प्रभु साहहरू सक्रिय थिए । फोरम पनि नजानिँदो ढङ्गले माओवादीलाई ठेगान लगाउन उपयोग हुँदै थियो । यही पृष्ठभूमिमा भएको थियो–गौर हत्याकाण्ड ।

तत्कालीन मधेसी जनअधिकार फोरम, रौतहटले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा २०६३ चैत ७ मा गौरको राइस मिल्सको मैदानमा आमसभा गर्ने भयो । माओवादी निकट तत्कालीन मधेसी राष्ट्रिय मुक्ति मोर्चाले पनि सोही स्थान र समयमा आमसभा गर्ने भन्यो । एकै मिति,समय र स्थानमा दुई पक्षको कार्यक्रम हुने भएपछि त्यहाँ गडबड हुने नीश्चित थियो । यसैले दुवै पक्षलाई स्थानीय प्रशासनले समय नजुधाउन भन्यो । तर दुवैले मानेनन् । 

कार्यक्रम हुने भयो । माओवादीले आमसभाकालागि योङ कम्युनिष्ट लिग (वाइसिएल) का सदस्यहरूलाई चैत ६ मा मकवानपुर र बाराबाट दुई वटा ट्रकमा गौर पुर्यायो । आमसभास्थल राइस मिल्स चौरमा करिब १०० मिटरको दूरीमा उत्तरतर्फ माओवादीले र दक्षिणतर्फ फोरमले आ–आफ्नो सभा स्थल बनाए । चैत ७ बिहान ११ बजेदेखि गौरमा लाठीसहितको जुलुस निकालेर फोरमका कार्यकर्ताहरू नगर परिक्रमा गर्दै आमसभा स्थलतर्फ गइरहेका थिए । गाउँ गाउँबाट आएका थप कार्यकर्ताहरू पनि बजार परिक्रमा गर्दै सभा स्थलतिर जाँदै थिए । जब दुवै समूह कार्यक्रम स्थलतिर पुगे,एक अर्काको मञ्च तोडफोड गर्न थाले । मञ्चका कुना कुनाबाट गोली र बमका आवाज सुनिइन थाले । राजनीतिक कार्यक्रम गर्ने भनिएको उक्त थलो हेर्दाहेर्दै रणभूमिमा परिणत भयो । 

फोरमका कार्यकर्ता आक्रामक देखिन्थे भने माओवादी कार्यकर्ता रक्षात्मक हुन पुगेका थिए । घटनास्थलमा ५–६ जना मात्र प्रहरी थिए । भिडन्त रोक्न नसक्ने देखेपछि उनीहरू पनि त्यहाँबाट भागे । घटनास्थल सुरक्षाकर्मीविहीन बन्न पुग्यो । २७ जना माओवादी कार्यकर्ताको मृत्यु भयो । ५२ जना घाइते भए । त्यस दिन फोरमका कार्यकर्ताले जुन तरिकाले पाशविक हत्या गरे,त्यो अपराध गर्ने र गराउनेहरूलाई नरसंहारक भन्दा कम हुँदैनथ्यो । कतिसम्म भने केही महिलालाई नाङ्गै पारेर बलात्कार गरिएको थियो । यस्तै यौन अंगमा उखुको डाँठ घोचेर यातना दिइएको थियो ।  स्तन काटेर हत्या गरिएको प्रत्यक्षदर्शीहरूको बयान सुन्दा पनि निकै पिडादायक लाग्थ्यो । कतिपयलाई घटनास्थलको आडैमा रहेको बौधीदेवीको मन्दिरमा रगतको भोग समेत दिइएको थियो । 



सशस्त्र द्वन्द्वको रापतापबाट उदाएको माओवादीको निम्ति उक्त घटना पक्कै पनि स्तब्ध पार्ने ठूलो धक्का थियो । आफ्नो नेतृत्वलाई बाह्य शक्तिबाट दिइएको एउटा चेतावनीको रूपमा गौर हत्याकाण्डलाई माओवादीले विश्लेषण गर्यो । गौर हत्याकाण्डलाई उसले ‘देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढङ्गले मच्चाएको नृशंस हत्याकाण्डको संज्ञा दियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौर हत्याकाण्डको डिजाइनरको रूपमा नेपालको दरबारीया शक्ति र भारतको हिन्दुवादी संगठनलाई दोष दिए ।  

उपेन्द्रले पनि माओवादी अध्यक्ष प्रचण्डको प्रत्यक्ष इसारामा घटना भएको दोष लगाए । प्रचण्ड र तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले घटनाको जिम्मेवारी लिनुपर्ने उनको दलिल थियो–त्यस बेला ।



शान्ति प्रक्रिया भर्खरै सुरु भएको तरल अवस्थामा घटनाको छानबिन हुनसक्ने अवस्था थिएन । भएन पनि ।  कारबाही त टाढाको कुरा । उल्टो  पहिलो संविधानसभापछि पहिलो ठूलो दल बनेको माओवादीले फोरमलाई समेत सहयात्री बनाएर सरकार चलायो । त्यसपछि पनि दुई पक्ष बेला बोल सँगसँगै हिँडिरहेका छन् । अहिले पनि दुवै पक्ष एउटै सरकारमा सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा उपेन्द्र स्वास्थ्यमन्त्री छन् । सम्झिनुपर्ने कुरा के हो भने गौर हत्याकाण्डबाट उपेन्द्रको फोरमले राजनीतिक अस्तित्व स्थापित गर्न सक्यो । तर बिर्सन नहुने कुरा के हो भने गौर हत्याकाण्ड नेपाली राजनीतिमा अपराधी करणको एउटा क्रूर मजाक भने पक्कै थियो । ​

तर माओवादी अध्यक्ष प्रचण्डले बेला बेला उपेन्द्रलाई तर्साइरहन्छन् । जस्तो कि मानव अधिकार आयोगको २०७९ पुस १९ मा बसेको बैठकले तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । हो,यसैको आडमा प्रचण्डले ‘गौर हत्याकाण्डपीडित सङ्घर्ष समिति बनाउन लगाएका छन् । त्योसँग सरकारी स्तरमै सहमति गरेर दोषीमाथि कारबाही गर्ने वाचा गरेका छन् । अहिले पनि उपेन्द्र र उनको दल जनता समाजवादी पार्टी (जसपा) लाई बेलाबेला प्रचण्डको यो चालले झस्काइरहन्छन् ।

‘गौर हत्याकाण्डमा परेका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाहीको प्रक्रियामा अगाडि बढाउने’ भन्दै प्रचण्ड अहिले पनि उपेन्द्रलाई तर्साइरहेका छन् । गौर घटनाबारे अनुसन्धान गर्ने घोषणा गर्दै प्रचण्ड सत्तामाथिको पकड बलियो बनाउन उपेन्द्र र उनको पार्टीलाई दबाबमा राख्न चाहन्छन् । जब जब उपेन्द्र बाउँठिन थाल्छन् तब तब प्रचण्ड गौर हत्याकाण्डको फाइल खोल्ने धम्की दिएर उपेन्द्रलाई साइजमा राखिरहन्छन् । यसैले त भनियो १७ वर्षअघिको गौर हत्याकाण्डको त्यो भूतले उपेन्द्र र उनको पार्टीलाई आजीवन लखेटी रहनेछ ।  

  • प्रकाशित मिति : चैत ७, २०८० बुधबार १२:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया