बलात्कार मुद्दामा फुटबलर रोबिन्होलाई नाै वर्षको जेल सजाय

फुटबलर रोबिन्होले ब्राजिलमा बलात्कार मुद्दामा नाै वर्षको जेल सजाय काट्नुपर्ने भएको छ । म्यानचेस्टर सिटी तथा रियल मड्रिडका पूर्वफरवार्ड रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी २२ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियाेगमा यस्ताे फैसला सुनाइएकाे बिबिसीले जनाएकाे छ । 

ब्राजिलमा बस्दै आएका ४० वर्षीय ब्राजिलियन खेलाडीलाई सन् २०१७ मा इटालीको अदालतले दोषी ठहर गरेको थियो । ब्राजिलले आफ्ना नागरिकलाई सुपुर्दगी नगर्ने भएकाले इटालीको आग्रहअनुसार बुधबार ब्राजिलको अदालतले उनलाई ब्राजिलमा रहेर सजाय भुक्तानी गर्नुपर्ने आदेश दिएको हो । यद्यपि, उक्त आदेशविरुद्ध पुनरावेदन गर्न मिल्ने भएकाले उनी हाललाई पक्राउ भने नपर्ने वकिलहरूले जानकारी दिएका छन् ।

घटना भएका बेला उनी इटालियन क्लब एसी मिलानमा आबद्ध थिए । उनले इटालीमा फैसलाविरुद्ध पुनरावेदन गरे पनि सन् २०२० मा उक्त मुद्दा हारेका थिए । सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले उनीविरुद्धको सजायलाई कायम गरेको थियो । 

इटालीका अधिकारीहरूले त्यसपछि रोबिन्होविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो । उनले उक्त घटना बलात्कार नभएर सहमतिमा भएको दाबी गर्दै आएका छन् । 

रोबिन्होले ब्राजिलका लागि १ सय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । त्यस्तै, रियल मड्रिडमा दुईवटा लिग उपाधि जितेपछि उनी सन् २००८ मा बेलायतमा तत्कालीन कीर्तिमानी ३.२५ करोड पाउन्डमा म्यानचेस्टर सिटीसँग अनुबन्ध भएका थिए । दुई सिजनपछि उनी एसी मिलान पुगेका थिए । त्यहाँ उनले ५ वर्ष बिताए ।

मिलानपछि उनी चिनियाँ टोली ग्वानझाओ एभरग्रान्डे हुँदै ब्राजिलको एट्लेटिको मिनेरो पुगेका थिए ।





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १६:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया