कांग्रेसलाई चुनाव प्रचारका लागि पैसाको अभाव

सरकारले आफ्नो दलको बैंक खाता रोक्का गरेपछि आगामी महिना सुरु हुने आम चुनावमा प्रचारप्रसारका लागि भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससँग पैसा नभएको यसका नेताहरूले बताएका छन् । 

कर विवरण दाखिल गर्न ढिला भएको भन्दै गत फेब्रुअरीमा पार्टीका धेरै बैंक खाता रोक्का गरिएको थियो । 'हाम्रो दलको सम्पूर्ण आर्थिक आधार रोकिएको छ,' स्वतन्त्रतापछि दशकौंसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाएका परिवारका वंशज तथा कांग्रेस नेता राहुल गान्धीले भने । 

त्रिपन्न वर्षीय गान्धीले भने, 'हामीसँग प्रचारका लागि पैसा छैन, हामी हाम्रा उम्मेदवारलाई सहयोग गर्न नसक्ने भएका छौँ । सरकारको नीतिका कारण चुनाव लड्ने हाम्रो क्षमतामा क्षति पुगेको छ ।'

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई चुनौती दिन कर विभागको प्रतिबन्धले समस्या पारेको र प्रतिबन्ध राजनीतिबाट प्रेरित भएको कांग्रेसको जिकिर छ ।

'गत हप्ता हामीलाई कर अधिकारीहरूबाट सन् १९९५ देखि सन् १९९६ सम्मको ‘फाइलिङ’को अर्को सूचना प्राप्त भएको छ,' गान्धीले नयाँ दिल्लीमा पत्रकार भेटमा भने । 'हामीसँग प्रचार सामग्री छाप्ने पैसा पनि छैन,' उनले थपे । 

यसैबीच, कांग्रेसकी पूर्वअध्यक्ष तथा राहुलकी आमा ७७ वर्षीया सोनिया गान्धीले पार्टीलाई पङ्गु बनाउने प्रणालीगत प्रयासको हिस्साका रूपमा कर जरिवाना गरिएको बताएका छन् । 



विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास अप्रिल १९ देखि सुरु हुने डेढ महिना लामो चुनावमा करिब एक अर्ब भारतीयले नयाँ सरकार चयनका लागि मतदान गर्नेछन् ।

सरकारले न्याय प्रणालीलाई राजनीतिकरण गरेको आरोप लगाउँदै भारतको लोकतान्त्रिक साखमाथि प्रश्न चिह्न खडा गरेको आलोचकहरूले बताएका छन् ।



भारतको मुख्य वित्तीय अनुसन्धान निकाय ‘इन्फोर्समेन्ट डाइरेक्टोरेट’ले कम्तीमा पाँच राज्यका मुख्यमन्त्री वा उनीहरूका परिवारका बारेमा अनुसन्धान सुरु गरेको छ ।

राहुलले ‘लोकतन्त्रको ढाँचाको रक्षा गर्ने संस्थाहरू’ नबोलेको र हस्तक्षेप नगरेको भन्दै निर्वाचन आयोगलगायत संस्थाको आलोचना गरेका छन् ।

  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १९:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया