logo-img

गृहमन्त्रीको राजीनामा पार्टीको संस्थागत निर्णय होइन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा जिल्लाका कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताएका छन् । 

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उनले झापा कांग्रेसको संगठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए । 

‘झापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो, उनमा सबैलाई समेटेर लैजाने क्षमता थियो, जसका कारण विस ०६४ सालको संविधानसभा निर्वाचनमा झापाका सबै क्षेत्रमा कांग्रेस पराजित हुँदा पनि उहाँ विजयी हुनुभएको थियो,’ उनले भने । 

महामन्त्री शर्माले आफ्नो पिता नहिँडेको राजनीतिक बाटोमा हिँडेका स्वर्गीय बुढाथोकीले समाजलाई संगठित रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । ‘स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसका कारण उहाँ झापा कांग्रेस र सिंगो पार्टीभित्र सबैले रुचाइएको व्यक्ति हुनुहुन्थ्यो,’ उनले भने । 

फरक प्रसंग उनले नेपाली राजनीतिमा गठबन्धन परिवर्तन हुँदा राजनीतिक संकट निम्तियो भनेर आत्तिन नहुने धारणा राखे । महामन्त्री शर्माले संसद्मा उपप्रधानमन्त्री एवं गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको भन्दै राजनीति सुधार गर्छु भन्ने दलका आरोपित  व्यक्ति नै अनुसन्धान गर्ने निकायमा पठाउँदा आमजनतामा शंका उत्पन्न भएको उल्लेख गरे । 

विसं २००१ मा जन्मिएका बुढाथोकीको गत माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो । 





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया