नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन् । मंगलबार ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिमा छट्टुहरु हाबी भएको भन्दै अहिलेको अवस्थामा नवीन्द्रराज जोशी जस्तो व्यक्तित्वको अभाव महसुस भएको बताए । 

उनले भने, ‘नवीन्द्रराज जोशीको अभावको महसुस हुने अवस्था अहिले नै हो जस्तो लाग्छ । अहिलेको अवस्थामा पार्टीभित्र इमानदार सँगसँगै योग्यताका लागि आफूलाई प्रयत्न गर्ने मानिस बढी चाहिएको छ । किनभने राजनीतिमा छट्टुहरु हाबी हुन थाले । छट्टुहरु हाबी भएको अवस्थामा हामीलाई धैर्य, गति र मति भएको मानिस चाहिएको छ । हाम्रो घरभित्रको फोहोर पनि सफा गर्नुपर्नेछ । हाम्रो घरभित्र फोहोर छ । त्यसलाई कार्पेटभित्र राखेर हुँदैन । सफा गर्नैपर्छ । हाम्रो मति ठिक बनाउनुपर्छ र लय समाउनैपर्छ ।’

उनले सिंगो समाज परिवर्तनको लागि तयार भएको भन्दै यसको लागि रुपान्तरणको एजेण्डाहरु आवश्यक भएको बताए । उनले भने, ‘हाम्रो परिवर्तनको चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरुले त्यसको दुरुपयोग गर्नेभयो, तर त्यसलाई चेतनाको राजनीति गर्ने मान्छेले त्यसलाई समात्नुपर्छ । त्यसलाई शक्ति बनाउनु पर्नेछ । सिंगो समाज परिवर्तनको लागि तयार छ । तर, त्यसको लय समाएर, परिवर्तन गर्नको लागि हामीलाई रुपान्तरणको एजेण्डाहरु चाहिएको छ ।’ 

दिंवगत नेता जोशीको प्रशंसा गर्दै महामन्त्री थापाले भने,‘नवीन दाइका लागि लोकतन्त्र भनेको जीवन हो । यसको साथै उहाँको अर्को महत्वपूर्ण विषय भनेको लगनशिलता र मेहेनत नै हो । यो कुरा हामीले सधैँ सम्झनामा राख्नुपर्छ । पार्टीमा उहाँको कमि, अभाव अहिले पनि महसुस हुन्छ ।’

सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने बताए । सत्तारुढ गठबन्धन स्थायी नहुने उनको दाबी थियो । कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसी, शिक्षाविद् केदारभक्त माथेमालगायतले नेता जोशीको योगदानका बारेमा चर्चा गरेका थिए । 





  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार १६:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया