आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन : प्रधानमन्त्री
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताएका छन् । शुक्रबार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘आधा आकाश ओगट्ने महिलालाई नसमेटीकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन । मैले राजनीतिक नेतृत्वमार्फत महिला सशक्तीकरणका लागि सबै क्षेत्रमा महिलाको आत्मसम्मान, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नको निम्ति निकै ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेको छु । र राजनीतिक रूपमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारसम्म पनि महिलाहरूको राम्रो उपस्थिति हुन गएको छ । तर जबसम्म आर्थिक रूपले सबल, आर्थिक रूपले सम्पन्न बनाउन सकिँदैन, साँचो अर्थमा महिला सशक्तीकरण पनि हुन सक्दैन ।’ 

उनले महिलाहरू आर्थिक हिसाबले सशक्त नभई साँचो अर्थमा सशक्तीकरण हुन नसक्ने जिकिर गरे । उनले आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताए । प्रधानमन्त्री दाहालले महिलालाई आर्थिक रूपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तीकरण हुन नसक्ने बताए ।

उनले भने, ‘आर्थिक हिसाबले सशक्त नभई साँचो अर्थमा सशक्तीकरण हुन पनि सक्दैन । आजको संसारमा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिलो आर्थिक पहुँचलाई सशक्त बनाउने कुरा नै हो । यही वास्तविकतालाई आत्मसाथ गरेर महिला उद्यमी महासंघले महिलालाई उद्यममार्फत आत्मनिर्भर बनाउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको छ । सात वटै प्रदेशका ६१ वटा जिल्ला ओगटेको यो महासंघमा ५२ सय भन्दा बढी महिला उद्यमी हुनु आफैँमा खुसी र गर्वको कुरा पनि हो ।’ 

प्रधानमन्त्री दाहालले महिला उद्यमशीलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रूपमा लिएको बताए । उनले महिला उद्यमीहरूलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरूलाई प्रवर्द्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास व्यक्त गरे ।  





  • प्रकाशित मिति : चैत १६, २०८० शुक्रबार ११:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया