आर्मीलाई हराउँदै चर्च ब्वाइजले जित्यो इटहरी गोल्डकपको उपाधि

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौंको चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि चुमेको हो । 

उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित भएको आर्मी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । 

उनले खेल प्रारम्भ भएको चौथो मिनेटमा गोल गरेका हुन् । खेलको प्रारम्भमा  नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले अधिकांश समय रक्षात्मक खेलेर विभागीय टोलीलाई अल्मल्याएको थियो । आर्मीका खेलाडीले पाएका गोलका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज चम्कन सफल भयो । प्रतियोगिताका नायक राजेश नै म्यान अफ दि म्याच घोषित भए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भए । उनले नगद १ लाख रुपैयाँ पाए । यस्तै, उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक सोही क्लबका दर्शन भक्तराज घोषित भए ।

उनीहरूले पुरस्कारस्वरूप जनही २० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगरले सर्वाधिक गोल गरे । 

आयोजक राष्ट्रिय जागृति क्लबका सुमित चौधरी उदीयमान खेलाडी घोषित भएर फुटबल बुट र मेडल प्राप्त गरे ।  लामो समयसम्म खेल क्षेत्रमा योगदान पुर्‍याएका इटहरीका उमेश कार्कीलाई नगद ११ हजारसहित पुरस्कृत गरियो । 



विजेता तथा उपविजेता टिमलाई  प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलगायत खेल पदाधिकारीले पुरस्कार प्रदान गरेका थिए । 

यही १० चैतदेखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित स्वदेशी आठ क्लबको सहभागिता थियो । 



  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार ६:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया