logo-img

प्रिमियर लिगमा म्यानचेस्टर र ब्रेन्टफोर्डले अंक बाँडे, एस्टन भिल्लाको जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले एक–एक अंक लिएका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले इन्जुरी समयमा एक एक गोल गर्दै अंक बाँडेका हुन् । 

गोलरहित बराबरीतर्फ उन्मुख खेलमा म्यानचेस्टर युनाइटेडले इन्जुरी समयको छैटौँ मिनेटमा अग्रता लिएको थियो । युनाइटेडमा मेसन माउन्टले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कासमिरोको पासमा गोल गरेका थिए ।

१ गोलले पछि परेको ३ मिनेटपछि नै ब्रेन्टफोर्डले पनि बराबरी गर्न सफल भयो । क्रिस्टोफर अजेरले इभान टोनीको पासमा गोल गर्दै अन्ततः खेल एक एकको बराबरीमा टुंग्याउन योगदान गरे । बराबरीपछि दुवै टिमले तालिकामा एक एक अंक थपेका छन् । म्यानचेस्टर युनाइटेड ४८ अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड २७ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खलमा एस्टन भिल्ला विजयी भएको छ । एस्टनले उल्भ्सलाई २–० गोल अन्तरले पराजित गरेको हो । एस्टनको जितमा मौसा डीबेको ३६ औं र एजिर नोगोयोको ६५ औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितपछि एस्टन ५९ अंकका साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
 
त्यसैगरी टोटनह्याम हटस्परले लुटन टाउनलाई २–१ गोल अन्तरले पराजित गर्दा सेफिल्ड युनाइटेड र फुलह्यामले तीन तीन गोलको बराबरी खेलेका छन् । नटिङघम फरेस्ट र क्रिष्टल प्यालेसले एक–एक गोलको बराबरी खेल्दा चेल्सी र बर्नलेले २–२ गोलको बराबरी खेले ।

यसैगरी बर्नमाउथले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दा न्यक्यासल युनाइटेडले वेस्टह्याम युनाइटेडलाई ४–३ गोल अन्तरले स्तब्ध बनायो । प्रिमियर लिगमा २९ औं चरणको खेल जारी रहँदा आर्सनल ६४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । समान ६४ अंक रहेको लिभरपुल दोस्रो स्थानमा रहँदा एक अंक कम भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा रहेको छ ।  





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया