logo-img

रोनाल्डोको गोल वर्षा जारी, पूरा गरे ६४औँ ह्याट्रिक

हाल साउदी अरेबियामा व्यावसायिक फुटबल खेलिरहेका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो उत्कृष्ट लय कायमै राखेका छन् । अल नासरको प्रायः जितमा नायक साबित भइरहेका उनले फेरि दमदार प्रदर्शन गरेका छन् ।

अल नासरका कप्तानसमेत रहेका रोनाल्डोले यसपटक साउदी प्रो लिगअन्तर्गत अल टाइविरुद्ध सानदार प्रदर्शन गरेका हुन् । नासरलाई ५–१ को फराकिलो जित दिलाउनेक्रममा उनले ह्याट्रिक गरे । शनिबार राति घरेलु मैदान अलअवाल रंगशालामा भएको खेलमा रोनाल्डोले ६४औँ, ६७औँ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 



अल नासरका लागि उनको यो चौथो ह्याट्रिक हो । रोनाल्डोले ५८ खेलमा ४ ह्याट्रिक गरेका हुन् । समग्र फुटबल करियरमा भने उनको यो ६४औँ ह्याट्रिक हो । योसँगै रोनाल्डोले नयाँ कीर्तिमान बनाए । उनी अब ६४ ह्याट्रिक गर्ने एक मात्र सक्रिय खेलाडी बनेका छन् । रोनाल्डोले यो उपलब्धि १ हजार १७६ खेलमा हासिल गरेका हुन् ।

उनले रियल मड्रिडमा रहँदा ४४, पोर्चुगलका लागि १०, म्यानचेस्टर युनाइटेड र युभेन्टसका लागि तीन/तीन ह्याट्रिक गरेका छन् । उनी हाल फुटबल खेलिरहेका खेलाडीमा सर्वाधिक ह्याट्रिक गर्नेको सूचीको दोस्रो नम्बरमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी रहेका छन् । उनले हालसम्म ५७ ह्याट्रिक गरेका छन् । मेसी पनि हाल राम्रो लयमा छन् । 



इन्टर मियामीबाट व्यासायिक फुटबल खेलिरहेका उनले ९ खेलमा १६ गोल गरिसकेका छन् । यद्यपि मेस्सीले एक वर्षयता भने ह्याट्रिक गर्न सकेका छैनन् । उनले अन्तिमपट गत वर्षको २९ मार्चमा कुराकाओसँगको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए । सोही खेलमा नै मेस्सीले १ सय अन्तर्राष्ट्रिय गोलको कोसेढुंगा पार गरे । यता रोनाल्डोले अल नासरका लागि गोलको वर्षा गरिरहेका छन् । 

सन् २०२२/२३ को सिजनदेखि नासरमा जोडिएका उनले ३९ खेलमा ५३ गोल गरेका छन्, जसमध्ये रोनाल्डोले २६ गोल जारी सिरिजमा गरेका हुन् । यस्तै, उनले सानदार प्रदर्शनमा नासरले यही सिजनमा पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जित्यो ।



नासरलाई यो उपाधि दिलाउन रोनाल्डो नायक साबित भए । अल अल हिलालविरुद्धको उक्त फाइनल खेलमा उनी एक्लैले २ गोल गरे । उक्त प्रतियोगितामा ६ गोल गर्दै रोनाल्डोले गोल्डेन बुटसमेत जितेका थिए ।   

  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १३:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया