भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्नेक्रममा दिल्लीले गएराति सम्पन्न खेलमा गत संस्करण विजेता चेन्नई सुपर किंग्सलाई २० रनले हरायो ।
चेन्नई लगातार तेस्रो जित निकाल्न चुक्यो । तेस्रो खेलमा दिल्लीले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो ।
उसका लागि महेन्द्र सिंह धोनीले आक्रामक ब्याटिङ गरे पनि टिमलाई जित भने दिलाउन सकेनन् । अविजित रहेका उनले १६ बलमा चार चौका र तीन छक्कासहित ३७ रन बनाए । यस्तै, अजिंक्य रहाणेले ४५, डारियल मिचेलले ३४, रवीन्द्र जडेजाले अविजित २१ र शिवम दुवेले १८ रन जोडे ।
दिल्लीका लागि मुकेश कुमारले तीन, खलिल अहमदले दुई र अक्षर पटेलले एक विकेट लिए । त्यसअघि विशाखापट्नममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनायो ।
उसका लागि डेविड वार्नर कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेले । ३५ बलको सामना गरेका वार्नरले पाँच चौका र तीन छक्कासहित ५२ तथा पन्तले ३२ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५१ रन बनाए ।
यस्तै, पृथ्वी शाले ४३ र मिचेल मार्शले १८ रनको योगदान दिए । चेन्नईका लागि मथीशा पाथिरानाले तीन, रवीन्द्र जडेजा र मुस्तफिजुर रहमानले एक/एक विकेट लिए ।
यो जितपछि दिल्ली अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । उसले तीन खेलमा एकमा जित र दुई खेलमा पराजय बेहोरेको छ । पराजित चेन्नईले दोस्रो स्थानमा छ । उसले तीन खेल खेल्दा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।