नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको टी–२० सिरिजको तेस्रो खेल आज हुँदैछ । यी दुई टिमबीचको अन्तिम टी–२० खेल पनि दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित टियू मैदानमै सुरु हुनेछ ।
सिरिज नेपालले एक खेल अगावै गुमाइसकेको छ । नेपाल क्लिन स्विपबाट जोगिन आजको खेलमा जित्नैपर्ने दबाबमा छ । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः २१ र ४० रनको हार बेहोर्यो ।
दुवै खेलमा फिनिसिङमा चुक्दा नेपालले हार बेहोरेको हो । पहिलो खेलमा युवा ओपनर लोकेश बमले शतकीय इनिङ खेले पनि तल्लोक्रमका ब्याटर फ्लप हुँदा नेपाल पराजित भयो । उक्त खेलमा लोकेशले ५६ बलमा ८ छक्का र ९ चौकासहित १०६ रन बनाए ।
यस्तै, आरिफ शेखले २५ बलमा ५ छक्काको मद्दतमा ४९ रनको इनिङ खेले । बाँकी ब्याटरको प्रदर्शन भने निकै कमजोर रह्यो । यस्तै, दोस्रो खेलमा पनि प्रारम्भिक ब्याटरले राम्रो प्रदर्शन गरेका थियो । सो म्याचमा ७.३ ओभरमै १ सय रन जोड्दा पनि नेपालले पराजय बेहोर्यो ।
नेपाल ‘ए’ अब अन्तिम खेलमा उत्कृष्ट कमब्याक गर्दै आयरल्याण्ड उल्भ्सलाई स्तब्ध पार्न चाहन्छ । जारी सिरिजमा नेपालले बलिङमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । कुनै पनि बलरले किफायती बलिङ गर्न नसक्दा नेपालले बलियो लक्ष्य पाइरहेको छ, जसकारण नेपालले लगातार दुई खेलमा हार बेहोर्यो ।
नेपाल अन्तिम खेलमा प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गर्ने सम्भावना बलियो छ । सोमबार नेपालले किरण ठगुन्ना र राशिद खानलाई विश्राम दिएर नारायण जोशी र विकास आग्रीलाई मौका दिने सम्भावना रहेको हो । अघिल्लो दुई खेलमा किरण र राशिदको प्रदर्शन निकै खराब रह्यो ।
नेपालको सम्भावित प्लेइङ–११ : देव खनाल, लोकेश बम, विनोद भण्डारी (कप्तान/विकेटकिपर), आरिफ शेख, पवन सर्राफ, नारायण जोशी, बसिर अहमद, कमल सिंह ऐरी, विकास आग्री, विपिन खत्री र सागर ढकाल ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।