logo-img

केजरीवाल अझै आधा महिना हिरासतमै बस्नुपर्ने
फाइल तस्बिर

आमनिर्वाचनको मुखमा भ्रष्टाचारको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले अझै १५ दिन न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ । 

संघीय सरकारअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहेका उनलाई सोमबार दोस्रोपटक म्याद थप गर्दै जेल चलान गरेको थियो । दिल्लीको राउज एवेन्यु कोर्टले ईडीको मागबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न थप अनुमति दिएको हो ।

ईडीले केजरीवालको घरबाट प्राप्त भएको डिजिटल डिभाइसको अध्ययन भइरहेको र उनले आफ्नो मोबाइलको पासवर्डसमेत नदिएको ईडीले अदालतमा जनाएको छ ।

अदालतको आदेशपछि केजरीवाल अब १५ अप्रिलसम्मका लागि तिहाड जेलमा रहनेछन् । उनी जेल परे पनि दिल्लीको सरकारमा नयाँ नेतृत्व छैन । उनले जेलबाटै सरकार सञ्चालन गरिरहेका छन् । सोही प्रकरणमा आपका नेताहरू मनिष सिसोदिया, सञ्जय सिंह र सत्येन्द्र जैन महिनौंदेखि उक्त जेलमा छन् ।

ईडीका अधिकारीले २१ मार्चको राति केजरीवाललाई उनको सरकारी निवासबाट नियन्त्रणमा लिएको थियो । यता केजरीवाल नेतृत्वको आम आदमी पार्टी र अन्य विपक्षी दलहरूले भने राजनीतिकरूपमा प्रेरित भएर मोदी सरकारले केजरीवाललाई पक्राउ गरेको आरोप लगाएका छन् ।

विपक्षी गठबन्धनले हालै दिल्लीमा विरोध सभा नै आयोजना गरेर चुनावको मुखमा त्रसित भएर भाजपाले यस्तो हर्कत गरेको आरोप लगाएको थियो । सरकारको यस्तो कार्यले मुलुकमा लोकतन्त्र संकटमा परेको उनीहरूको भनाइ छ ।



विपक्षी गठबन्धनले निर्वाचन आयोगलाई चुनावमा सबैलाई समान अवसर सुनिश्चित गर्नसमेत माग गरेको छ । ईडीले यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि पक्राउ गरेको थियो ।  



  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया