यी हुन् आज दिनभरका समाचार

सहकारी प्रकरणमा रास्वपाका नेताहरुको नाम जोडिएपछि गृहमन्त्रीः प्रश्न उठ्दैमा आत्तिहाल्नुपर्दैन

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सञ्चारमाध्ययमा पार्टी सपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे । 

समाचारमा आउने सबै सत्य नहुने भन्दै उनले सत्य के हो त्यसको खोजी गरेर समाचार प्रकाशन एवं प्रसारण गर्न आग्रह गरे । एकजना पत्रकार र पत्रिकामा समाचार छापिनेबित्तिकै दोष प्रमाणित नहुने बताउँदै उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे । 

उनले सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने माग गरे । 



अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधकः अध्यक्ष यादव



जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको बताएका छन् । 

मंगलबार काठमाडौं समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भए पनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको उनले जिकिर गरे । 

अहिलेको शासकीय स्वरुपबाट समाजवाद सम्भव नरहेको बताउँदै उनले अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको उनले बताए । समाजवादका लागि शासकीय प्रणाली, निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको उनले बताए । 

संविधान परिवर्तन नगरीकन समाजवादउन्मुख लेखेर मात्रै उन्मुख नहुने उनले बताए । नेपालको संघीयता संघीयता जस्तो मात्रै भएको, तर कुरुप रहेको उनले बताए । 

अध्यक्ष यादवले सामाजिक न्याय बिना समानतामा आधारित न्याय बन्न नसक्ने जिकिर गरे । पुँजीवादी लोकतन्त्रको विकल्प समाजवादी लोकतन्त्र नै रहेको उनले बताए । 

वर्तमान संविधान सम्झौताकै दस्ताबेज हो, पूर्ण छैनः प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको बताउँदै उनले आफूले नयाँ सत्ता समीकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गरे । समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भई र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको उनले बताए । 

समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान सकिने उनले बताए । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको उनले बताए । 

संविधानलाई बढी भन्दा बढी प्रगतिशील धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको उनले बताए । नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिने उनले विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले आफूले केही जोखिम मोलेर भए पनि देशभक्त वामपन्थीहरुलाई एकतामा ल्याउने जमर्को गरेको बताए । समाजवादको जन्म अन्ततः सडकबाटै भएको उनले बताए । 

योजना बाहिरका कार्यक्रम बजेटमा आउँदा समस्या भयोः राखेप सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको सरोकारवाला निकाय राखेपले प्रस्ताव नै नगरेको वा जानकारीमा नै नभएको शीर्षक बजेटमा समावेश भएर आउने गरेको बताएका छन् । 

राखेपद्वारा मंगलबार आयोजित खेलकुदमा योजना र बजेट कस्तो ? भन्ने शीर्षकमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव घिसिङले उक्त दुःखेसो गरेका हुन् । राखेपले नबनाएको योजना, परिकल्पना, प्रश्ताव बजेटमा समावेश हुँदै आएको गलत प्राक्टिस सामना गर्नुपरेको सदस्यसचिव घिसिङको भोगाइ छ । 

खेलकुदमा यसैपनि थोरै बजेट हुने र त्यसमा पनि कार्यक्रमहरू गर्न आफ्नो नियन्त्रणमा हुने नगरेको बजेट आउनुले समस्या भइरहेको उनको बुझाइ छ ।

सम्बन्धित खेलविज्ञ, खेल संघ या सरोकारवाला निकायसँग नै छलफल नगरी मापदण्डविपरीत केही संरचना बनिरहेको उल्लेख गर्दै उनले खेलकुद संरचना बन्नु राम्रो पक्ष भए पनि यसको प्राविधिक पक्षबारे चेकजाँच गराएर मात्र संरचना बनाउन आग्रह गरे । 

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छः सौगात मल्ल

अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुनेक्रम रोक्न आवश्यक रहेको बताएका छन् । मंगलबार चलचित्र ‘द रेड सुटकेश’को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै उनले दुःख लाग्ने गरेको बताए । आगामी केही वर्षपछि नेपालको अवस्था कस्तो हुन्छ भन्ने सोचेर झस्किने गरेको उनले बताए । 

राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई रोक्न जरुरी रहेको उनले बताए । युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई राज्यले बेवास्ता गरिरहेको उनले बताए । विदेश पलायन भइरहेको विषयलाई राज्यले के फरक पर्ला र ? भन्ने ध्येयका साथ लिने गरेको उनले दुःखेसो गरे । 

चलचित्रमा कलाकारहरु विपिन कार्की, सौगात मल्ल, सृष्टी श्रेष्ठ, प्रविण खतिवडा रहेका छन् । चलचित्र रेड सुटकेसको लेखन÷निर्देशन फिडेल देवकोटाले गरेका हुन् । 

नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैनः अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएकी छिन् । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै उनले निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । 

नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गरे । नेपाली राजनीतिक कर्मीहरुहको आचरण सही नभएको ठहर गर्दै उनले नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने जिकिर गरे । अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभइ सहयोगी रहेको जिकिर गरे । केही भएका कमीलाई संशोधन गरेर जान सकिने उनले बताए । 

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपालमा समाजवादको विकल्प नरहेको उनले जिकिर गरे । 

राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य गरेको भए पनि फेरि राजतन्त्रका शक्तिहरु सल्बलाउने र पुनःउत्थानवादीहरुले राजतन्त्र फर्काउने कोसिस गरिरहेको भन्दै उनले समयमै सजग हुनुपर्ने बताए ।

इजरायलद्वारा २ हप्ताको आक्रमणपछि गाजाको अल–शिफा अस्पतालबाट सेना फिर्ता 

इजरायलको सेनाले गाजाको अल–शिफा अस्पतालबाट आफ्ना सेनाहरू फिर्ता बोलाएको छ । करिव २ हप्ताको आक्रमणपछि इजरायलले सेना फिर्ता बोलाएको हो । 

गाजामा इजरायलले करिव ६ महिना लामो आक्रमण सुरु गरेपछि अस्पतालमा इजरायलले गरेको यो दोस्रो ठूलो आक्रमण हो । 
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससकाअनुसार अल–शिफामा आक्रमण शुरु भएदेखि कम्तीमा २१ जना बिरामी मारिएका छन् । 

गृहमन्त्रीलाई सांसद यादवको आग्रह– आरोपलाई टुंगोमा पुर्याउन सहयोग गर्नुस्

नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद यादवले सहकारी प्रकरणमा छानविनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरे । 

सो आरोपको निष्पक्ष छानविन गरेर सत्यतथ्य बाहिर नल्याएसम्म गृहमन्त्रीलाई आरोपले नछोड्ने र जिन्दगीभर लखेट्ने उनले बताए । संसदीय समिति बनाएर अनुसन्धान गर्नु गृहमन्त्रीकै हितमा हुने उनले बताए । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताए । रास्वपाका यी दुई नेताहरुमाथि पनि निष्पक्ष छानविन गर्न उनले माग गरे । 

उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टीकरणः बिमस्टेक सार्कको प्रतिस्थापन होइन, हुन सक्दैन

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताएका छन् । भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रुपमा अघि बढाउन चाहेको विश्लेषण भइरहँदा उपप्रधानमन्त्री श्रेष्ठको यस्तो स्पष्टीकरण आएको हो । 

उनले नेपाल सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग सहमत नरहेको अडान राखे । मंगलबार प्रतिनिधिसभामा बिमस्टेक वडा पत्रको प्रावधानसम्बन्धी छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपालले कहिल्यैै पनि सार्कको प्रतिस्थापन संस्थाको रुपमा बिमस्टेकलाई नलिएको पनि स्मरण गराए । 

बिमस्टेक सार्कको प्रतिस्थापन नभएको र हुनै नसक्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । उनले सार्कलाई प्रभावकारी बनाउन नेपालले अध्यक्ष राष्ट्रको हैसियतले पहलकदमी लिने पनि बताए । 

उपप्रधानमन्त्री श्रेष्ठले नेपालले बिमस्टेकलाई छुट्टै क्षेत्रीय संगठनको रुपमा बुझेर त्यसबाट लाभ प्राप्त हुनेगरी अगाडि बढ्न भूमिका खेल्नुपर्ने बताए । 

राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयोः सोविता गौतम

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायाधिश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उनको भनाइ थियो । 

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाईमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । 

कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै उनले आपत्ति समेत जनाइन् । सांसद गौतमले सुधारका लागि कारागारमा लगिएको कैदीबन्दीहरु झनै अपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औंल्याउँदै त्यसतर्फ गम्भीर भएर काम गर्न पनि सरकारलाई दबाब दिइन् । 

राप्रपा सत्ताकेन्द्रित कुनै पनि गतिविधिमा सामेल हुँदैनः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् । सबै प्रदेशमा नयाँ सत्तासमीकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

मंगलवार काठमाडौंमा आयोजित काठमाडौं गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनै पनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी समेत गरे । 

नयाँ सत्ता समीकरण बन्नासाथ आफूहरुले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि उनले स्मरण गराए । 

  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार २१:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया