logo-img

यी हुन् आज दिनभरका समाचार

शिक्षामन्त्रीमाथि काँग्रेस सांसद बस्नेतको आरोपः प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर खुवाउने प्रपञ्च 

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी कर्मचारीको नाममा आसेपासेलाई जागिर खुवाउने प्रपञ्चअन्तर्गत प्रशिक्षार्थी कर्मचारी सम्बन्धी कार्यविधि जारी गर्नुभएको आरोप लगाएका छन् । 

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रशिक्षार्थी कर्मचारी भर्ना गर्नु भनेको सरकारी कर्मचारीमाथिको अविश्वास भएको उनले बताए । उनले उक्त कार्यविधि तत्काल खारेज गर्न माग गरे । 

शिक्षामन्त्री अमुक विद्यालयको प्रचारमा सीमित भएको बताउँदै उनले निःशुल्क शिक्षाको अधिकारको कुरा कागजमा मात्रै सीमित भएको बताए । 

सांसद बस्नेतले सरकारी विद्यालयको शिक्षाको गुणस्तर उकास्न सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले देशमा प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक आफैँ न्यायाधीश बन्ने गरेको आरोप लगाए । 



राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधबार हुने



राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते बुधबार हुने भएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकले उपाध्यक्षको निर्वाचन मिति तोकेको हो । 

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचन चैत्र २८ गते बुधवारका लागि तोकेको घोषणा गरे । नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई उपाध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिए ।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २८ गते बुधबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

गण्डकीमा अहिले राप्रपा नभई कुनै पनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैनः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार बिहान उनले पदबाट राजीनामा दिएका हुन् । 

राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया सुरु हुने बताए । गण्डकी सरकार निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी दुवै गठबन्धनका लागि महत्वपूर्ण हुने भएकाले राप्रपाको २७ गतेसम्मको आन्दोलन नसकिएसम्म नयाँ सरकार बन्न नसक्ने उनले बताए । 

आफू मुख्यमन्त्री रहँदा गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति दिलाउने गरी काम गरेको जिकिर गर्दै उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समृद्ध प्रदेश बनाउने सिलसिलामा इमान्दारीपूर्वक आफूले काम गरेको बताए । 

खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउँछुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार मन खोलेर दिनुपर्ने पक्षमा आफू रहेको बताउँदै उनले पुरस्कार दिन बाँकी रकम तत्काल निकासा हुने बताए । नेपालका लागि खेल क्षेत्र असाध्यै धेरै सम्भावना भएको क्षेत्र रहेको उल्लेख गर्दै दाहालले खेलकुद गतिविधिमार्फत ठूलाठूला युद्ध र मानव सिर्जित विपत्तिहरु समाधान भएको बताए । 

नेपाल सरकार खेलकुद क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरु प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीति निर्माण गर्न र संस्थागत तथा संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको उनले जिकिर गरे । 

इजिप्टका राष्ट्रपतिद्वारा तेस्रो कार्यकालका लागि शपथ ग्रहण 

अब्देल–फत्ताह अल–सिसीले मंगलबार इजिप्टको राष्ट्रपतिको रूपमा लगातार तेस्रो कार्यकालको लागि संवैधानिक शपथ ग्रहण गरेका छन् । उनले सन् २०३० सम्म राष्ट्रपतिको रूपमा सेवा गर्नेछन् । 

नयाँ प्रशासनिक राजधानीमा इजिप्टको संसदको मुख्यालयमा आयोजित एक प्रसारण समारोहमा सिसीले गणतन्त्रको रक्षा, संविधान र कानूनको सम्मान, जनताको हितको रक्षा गर्न र राष्ट्रको स्वतन्त्रता र एकताको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गरे । 

राष्ट्र निर्माणको यात्रालाई निरन्तरता दिने र आधुनिक लोकतान्त्रिक राज्य निर्माणमा इजिप्टका जनताको आकांक्षा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले अस्तव्यस्त क्षेत्रीय परिवेशमा राष्ट्रको सुरक्षा र विकास र प्रगति हासिल गर्नु आफ्नो उच्च प्राथमिकतामा रहेको दोहोर्याए । 

सिसी सन् २०२३ को डिसेम्बरमा इजिप्टको राष्ट्रपतीय निर्वाचनमा ८९.६ प्रतिशत वैध मतहरू जितेर विजयी भएका थिए । सन् २०१९ मा परिमार्जनसहित २०१४ मा स्थापित इजिप्टको संविधानअनुसार उनले ६ वर्षको राष्ट्रपतिको कार्यकाल २०२४ देखि २०३० सम्म सञ्चालन गर्नेछन् । 

पहिलो पटक सन् २०१४ मा चार वर्षका लागि इजिप्टको राष्ट्रपतिमा निर्वाचित भएक उनीसन् २०१८ मा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका थिए । 

एसईईमा वञ्चित भएकाहरुलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका कुनै पनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताएकी छिन् । 

शुल्क तिर्न नसकेर पनि कतिपय विद्यार्थीहरुले सो परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला उनले परीक्षा दिन नपाएका कुनै पनि विद्यार्थीलाई परीक्षामा तत्काल सहभागी गराउने भन्दै सूचना दिन समेत आह्वान गरिन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कुनै पनि विद्यार्थीले कक्षा कोठामा ७५ प्रतिशत सहभागी नभए परीक्षा दिन नपाउने कानूनी व्यवस्था भए पनि सरकारले उनीहरुलाई पनि सो परीक्षामा तत्काल सहभागी गराउन सक्ने स्पष्ट पारिन् । 

गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायोः एमाले

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली काँग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि काँग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्याएको बताएका हुन् । 

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले काँग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । प्रमुख सचेतक बर्ताैलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनी काँग्रेसलाई प्रश्नसमेत गरे । 

माथिल्लो ओहोदामा पुगेका कर्मचारीलाई विदेशी कम्पनीमा काम गर्न निषेध गरांैः योगेश भट्टराई

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माथिल्लो ओहोदामा रहेका कर्मचारीलाई अवकाशपछि विदेशी कम्पनीमा काम गर्न नपाउने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

देशको गोपनियता बाहिर जाने भएकाले पनि माथिल्लो तहमा पुगेका कर्मचारीहरुलाई विदेशी कम्पनीमा काम गर्न निषेध हुने कानूनी व्यवस्था गर्न आवश्यक रहेको उनको तर्क थियो । बुधवार प्रतिनिधि सभा बैठकमा संघीय निजामती सेवा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सचिव भट्टराईले दलीय आग्रहभन्दा माथि उठेर सो विधेयकको धेरै विषयमा छलफल गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

विधेयकमा माथिल्लो तहका कर्मचारीहरुले तत्काल संवैधानिक अंगमा काम गर्न पाउने व्यवस्था गरिएकोमा उनले आपत्ति जनाए । सचिव भट्टराईले टे«ड युनियनहरुलाई पनि उत्पादनमुखी काममा लगाउने गरी कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताए ।

सरकारले ल्याएको निजामती सेवासम्बन्धि विधेयकमा त्रुिट छ, क्रसपार्टी छलफल गरौंः गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको ‘संघीय निजामती सेवा विधेयकको डिजाइन नै गलत भएको टिप्पणी गरेका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा सो विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयकलाई सबै दलहरुले मिलेर निजामती सेवालाई राम्रो बनाउने गरी छलफललाई अघि बढाउनुपर्ने प्रस्तावसमेत गरे । 

यो पक्ष वा त्यो पक्ष नभनी सो विधेयकलाई समितिमा लगेर छलफल गर्नका सबै राजनीतिक दलहरु अघि बढ्नुपर्ने महामन्त्री थापाको भनाइ थियो । उनले सो विधेयकको उद्देश्य ठिक भए पनि त्यसलाई बोक्ने गरी विधेयक नआएको जिकिर पनि गरे । 

महामन्त्री थापाले निजामती सेवालाई आधुनिक बनाउनुपर्ने भएकाले पनि सो विधेयकमा व्यापक छलफल आवश्यक भएको बताए । महामन्त्री थापाले निजामती सेवाका कर्मचारीलाई सन्तुष्ट बनाउने गरी ऐन ल्याउनुपर्ने पनि बताए । 

आरोप लाग्नासाथ सांसदबाट पनि राजीनामा दिने सर्वदलीय सहमती गरौँः सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलिय सहमती गर्न प्रस्ताव गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएको बताए । 

यस प्रकारको असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भनी प्रश्नसमेत गरे । आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन, सांसदबाट पनि राजीनामा गर्नेगरी सर्वदलीय सहमती गर्न उनले प्रस्ताव गरे । 

आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा पनि तयार रहेको उनको भनाइ थियो । 

काँग्रेसद्वारा अल्टिमेटम सकिएको घोषणा, संसदीय छानबिन समिति गठन नभए आगामी बैठक चल्न नदिने

नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गरेका हुन् । 

विगतमा संसद अवरुद्ध भएको र तोडफोडसमेत भएको आफूहरुले देखेको भन्दै उनले प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो ? भनेर प्रश्नसमेत गरे । आगामी संसद बैठकमा आउँदा संसदीय छानबिन समिति बनाएर आउन सरकारलाई उनले अपील गरे । नेपाली काँग्रेस संसदीय छानबिन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उनको भनाइ छ ।

अर्थतन्त्रले शिथिलता फेस गरिरहेको छः गभर्नर अधिकारी  

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन् । बुधबार काठमाडौंमा कर्पोरेट नेपालको १० औं वार्षिकोत्सव कार्यक्रम बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  

अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गर्दै उनले गत आर्थिक वर्ष २०७९–८० को केन्द्रीय तथ्यांक कार्यालयले अनुमान गरेको तथ्यांकबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताए । 

चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न लक्ष्य भएपनि लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरुले देखाइरहेको बताउँदै उनले औसत आर्थिक वृद्धि हुने दाबी गरे । 

  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार २२:३१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया