आइपिएल २०२४ : पाँच महँगा स्टारको फिक्का प्रदर्शन [भिडियोसहित]

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा चौका/छक्काको वर्षा वर्षाको भइरहेको छ । लिगमा एकपछि अर्को कीर्तिमान पनि बनिरहेका छन् । 

बुधबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले २ सय ७२ रन बनायो । आइपिएलमा कोलकाताको अहिलेसम्मकै उच्च स्कोर हो । समग्रमा भने आइपिएलमा बनेको यो दोस्रो ठूलो स्कोर हो ।

कोलकातालाई दिल्लीविरुद्धको खेलमा सनराइजर्स हैदराबादको उच्च स्कोरको रेकर्ड तोड्ने मौका थियो । तर, अन्तिम ओभरमा दिल्लीका बलरले कोलकातालाई त्यो कीर्तिमान बनाउन दिएनन् । 

यही सिजनको आठौँ खेलमा हैदराबादले मुम्बईविरुद्ध २ सय ७७ रन बनाउँदै इतिहास रचेको थियो । जारी संस्करणमा १६ खेल सकिँदा कोलकाता र राजस्थान मात्र अपराजित छन् ।

यी दुई टिमले समान तीन खेल खेल्दा सबैमा जित निकालेका छन् । तर, उपाधि दाबेदार मानिएका रोयल च्यालेन्जर्स बेंगलुरु र मुम्बई इण्डियन्सले भने सुखद सुरुवात गर्न सकेनन् ।



बेंगलुरुले चार खेल खेल्दा एक म्याचमा मात्र जित हात पारेको छ । मुम्बईले तीन खेल खेल्दा जितको खाता खोल्न सकेको छैन । यस्तै, जारी सिजनको सुरुवातमा अक्सनमा महँगो मूल्य पाएका खेलाडीको प्रदर्शन फिक्का रह्यो । 



आइपिएल २०२४ : पाँच महँगा स्टारको फिक्का प्रदर्शन

१. मिचेल स्टार्क

यो सूचीको शीर्ष स्थानमा अस्ट्रेलियन स्टार मिचेल स्टार्कको नाम आउँछ । उनलाई कोलकाता नाइट राइडर्सले अक्सनबाट आइपिएल इतिहासकै सर्वाधिक महँगो मूल्य २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । 

पैसाको वर्षा गरेर भित्र्याएका स्टार्कबाट कोलकाताले सानदार प्रदर्शनको आशा राखेको थियो । तर, उनले तीन खेल खेल्दा सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् । स्टार्कले तीन खेलमा ११ भन्दा बढीको खराब इकोनमीमा २ विकेट मात्र लिएका छन् । 

२. प्याट कमिन्स

जारी सिजनका अर्का महँगो खेलाडी हुन्, सनराइजर्स हैदराबादमा आबद्ध अस्ट्रेलियाका प्याट कमिन्स । उनलाई हैदराबादले साढे २० करोड भारुमा अनुबन्ध गरेको थियो । तर, कमिन्सले पनि आफ्नो क्षमताअनुसार भने प्रदर्शन गर्न सकेका छैनन् ।

हैदराबादका कप्तानसमेत रहेका उनले टिमलाई तीनमध्ये एक खेलमा मात्र जित दिलाउन सकेका छन् । व्यक्तिगत प्रदर्शन हेर्दा कमिन्सले ३ खेलमा ७.९१ को इकोनमीमा ४ विकेट मात्र लिएका छन् । 

३. हर्षल पटेल

पञ्जाब किंग्समा आबद्ध भारतीय तीव्र गतिका बलर हर्षल पटेल पनि जारी सिजनको सुरुवातमा खराब लयमा छन् । उनले ३ खेलमा ११ भन्दा बढीको इकोनमीमा ३ विकेट मात्र लिएका छन् । 

हर्षल महँगा साबित हुँदा पञ्जाबले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । उसले हर्षललाई अक्सनबाट ११ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । 

४. ग्लेन म्याक्सवेल

आइपिएल २०२४ मा खराब लयमा देखिएका अर्का महँगा स्टार हुन्, ग्लेन म्याक्सवेल । गत सिजनमा सानदार प्रदर्शन गरेका उनी यसपटक भने लयमा देखिएका छैनन् ।

म्याक्सवेलले चार म्याच खेल्दा ३१ रन मात्र जोडेका छन् । उनको ब्याट नचल्दा बेंगलोरले चारमध्ये तीन खेलमा पराजय बेहोरेको छ । बलिङमा भने म्याक्सवेलले राम्रो प्रदर्शन गरिरहेका छन् । 

बेंगलोरले उनलाई सन् २०२१ को अक्सनबाट १४ करोड २५ लाख भारुमा भित्र्याएको थियो ।   ​​

५. इशान किसन

जारी सिजनको सुरुवातमा फ्लप देखिएका अर्का महँगा खेलाडी हुन्, मुम्बई इण्डियन्समा आबद्ध भारतीय ब्याटर इशान किसन । उनले यस संस्करणको तीन खेल्दा ५० रन मात्र जोडेका छन् ।

ओपनिङमा इशान नचल्दा मुम्बईले लगातार तीन खेलमा हारको सामना गरेको छ । मुम्बईले उनलाई २०२२ को आइपिएल अक्सनबाट १५ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो ।   

  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १४:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया