logo-img

यी हुन् आज दिनभरका समाचार

सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यकः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । आइतबार ललितपुरमा आयोजित आठौँ स्वास्थ्य बिमा वाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले स्वास्थ्य सेवालाई समतामूलक ढंगले स्वास्थ्य बिमामार्फत उपलब्ध गराई सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्न स्वास्थ्य कार्यक्रमको दायरा वृद्धि गरी यस कार्यक्रमलाई सार्थक र प्रभावाकारी बनाउन आवश्यक रहेको बताए । उनले स्वास्थ्य बिमा ऐनको प्रावधानअनुसार औपचारिक क्षेत्र जस्तैः शिक्षक, कर्मचारीलगायत जनप्रतिनिधिको आम्दानीअनुसारको स्वास्थ्य बिमा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गरे । 

उनले स्वास्थ्य बिमामा आकर्षण बढाउन बिमितले सेवा लिने प्रक्रिया सहज बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवा प्रदायक संस्थालाई अझ सेवामैत्री बनाउने, सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने, स्वास्थ्य बिमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान चलाउने विषय आजका प्रमुख चुनौती रहेको बताए । 

उनले स्वास्थ्य बिमालाई अझ बढी प्रभावकारी बनाउन स्वास्थ्य बिमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्था, अनलाइन सदस्यता दर्ताको व्यवस्था, रियल टाइम क्लेम सिस्टम, समयमै शोध भर्ना प्रविधिमैत्री बिमा प्रणालीजस्ता व्यवस्था र प्रावधान चुनौतीलक्षित सुधारका योजना रहेको बताए । 



सरकारले सबै स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारबाट प्रदान गर्ने सेवा तथा सिफारिसमा स्वास्थ्य बिमा कार्ड अनिवार्य गर्नेजस्ता महत्वपूर्ण नीतिगत सुधारका लागि गृहकार्य भइरहेको बताए । 

सरकार बिमा रकमलाई बढोत्तरी गरी स्वास्थ्य बिमा कार्यक्रममा आकर्षण एवं प्रभावकारिता ल्याउन प्रतिवद्ध रहेको उनले बताए । स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा विकास गर्न सक्ने सम्भावनालाई नियालेर आवश्यक अध्ययनका आधारमा यथोचित निष्कर्षमा पुग्ने बताए । 



कथित निषेधित क्षेत्र स्वीकार्य छैन, तोडेर प्रदर्शन गर्छौंः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्र तोडेर अघि बढ्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले सरकारले कथित रूपमा तोकेका निषेधित क्षेत्र राप्रपालाई मान्य नहुने बताए । 

राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे । संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलापअन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको उनले बताए । अध्यक्ष लिङ्देनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनलाई साँघुरो बनाउने प्रयत्न राप्रपालाई स्वीकार्य नरहेको बताए । 

प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पार्दै उनले कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिए । शनिबारको प्रदर्शनमा राजनीतिक दलको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै भत्र्सना गरे । 

शनिबार भद्रकाली मन्दिरपरिसर क्षेत्रमा नेता राजेन्द्र महतोको नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।

रास्वपा संसदीय दलमा संसद अवरोधबारे छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गरेको संसद अवरोधको बारेमा छलफल भएको छ । 

आइतबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा संसदमा नेपाली काँग्रेसले सहकारी प्रकरणको विषयमा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रश्न उठाउँदै संसद अवरोध गर्दै आएकोबारेमा छलफल भएको हो । बैठकको बारेमा जानकारी गराउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा प्रमुख प्रतिपक्ष दलले संसदमा आन्दोलन गरिरहँदा संसद पेचिलो बन्दै गएकोबारेमा संसदीय दलको बारेमा छलफल भएको बताए । 

आफू प्रमुख प्रतिपक्ष दल काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलासँग संवादमा रहेको बताए । उनले सभामुख देवराज घिमिरेले सोमबार प्रमुख सचेतक र नेताहरूको बैठक बोलाएको र सोही बैठकबाट मंगलबारको संसद निर्वाध रुपमा अघि बढ्ने अपेक्षा राखेको बताए । 

उनले संसदीय दलको बैठकमा पार्टी सभापति लामिछानेले आफ्ना भनाइ राखेको र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले अहिलेसम्मको कार्यप्रगतिबारेमा जानकारी गराएको पनि बताए । 
 
दैनिक बढ्दै आँखाका रोगीः ८ महिनामा नेपाल आँखा अस्पतालमा पुगे १ लाख बढी बिरामी

कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् । कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो । 

नेपाल आँखा अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१–०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताए । यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको उनले बताए । 

इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताउँदै उनले आँखाको रोग सुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भए पनि कोभिड १९ पछि बालबालिकामा धेरै मात्रामा रोग देखिएको बताए । अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताए । तीन हजार ५ सय ९८ सर्जरी गरेको पनि बताए । 

अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको उनले बताए । दैनिक ४ सयदेखि ७ सय जना बिरामीलाई बहिरंग सेवा दिने गरेको उनले बताए । 

विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चश्मा वितरण गरेको पनि उनले बताए । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरुको आँखा परीक्षण गरी १ हजारभन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको बताए ।
 
अर्जुनको शतकका बाबजुद हारयो नेपाल ‘ए’, गुमायो शृृंखलाका तीनै खेल

अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ले आइतबार आयरल्याण्ड ‘ए’सँगको तेस्रो एकदिवसीय क्रिकेटमा पनि फराकिलो हार व्यहोरेको छ ।

यससँगै नेपाल ‘ए’ ले कीर्तिपुरमा पाहुना टोलीसँगको तीन खेलको श्रृंखला ३–० ले गुमायो । अर्जुनले १०२ रनको शतकीय इनिङ जोडे पनि नेपालको हार टार्न सकेनन् । 

आयरल्याण्ड ‘ए’ ले दिएको २८५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ३९.४ ओभरमा २१५ रनमै अलआउट भयो । ओपनरद्वय अर्जुन कुमाल र अर्जुन साउदबाहेक नेपालको ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । अर्जुन साउदले ३६ रनको योगदान दिए । त्यस पछिका ब्याटरले लामो इनिङ खेल्न सकेनन् । अर्जुन कुमालले लामो इनिङ खेल्दै जित सम्भावना जीवन्त राखेका थिए ।

तर खातामा ९ रन जोड्दा अर्जुनसहित पाँच विकेट पतनसँगै नेपालले सहजै खेल नतिजा सुम्पियो । आयरल्याण्ड ‘ए’ का बेन ह्वाइटले ३५औं ओभरमा अर्जुनलाई स्टेफन डोहनीद्वारा क्याच गराए । 

यस क्रममा अर्जुनले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । ३४.३ ओभरमा नेपाल ‘ए’ २०४/५ को अवस्थामा थियो । तर, अर्जुनको विकेटसँगै नेपालको इनिङ धराशयी भयो । रूपेश सिंहले १५ रनबाहेक सबै ब्याटर सस्तैमा आउट भए । देव खनालले ११ रन र नरेन भट्टले १५ रन बनाए ।

तर, मध्य क्रमका ब्याटर इनिङ अगाडि बढाउन असफल भए । आयरल्याण्ड ‘ए’ का स्पिनरसामु नेपाली ब्याटर टिक्नै सकेनन् । स्पिनरद्वय ह्वाइटले पाँच र गाभिन होइले चार विकेट लिँदै नेपालको इनिङ धरासायी बनाए । म्याथ्युज फोस्टरको नाममा एक विकेट रह्यो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने आयरल्याण्डको निर्णय सही सावित भयो । आयरल्याण्ड ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रनको राम्रो योगफल तयार पा¥यो । ओपनर डोहेनीले १०७ रनको शतकीय इनिङ खेले । रिजन ढकालले ४७ औं ओभरमा डोहेनीलाई आउट गरे ।

त्यसअघि डोहेनीले १२९ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । पिटर मोरले ४४ रन जोड्दा म्याथ्युज हाम्फ्रेजले २३, मोर्गान टोपिङले २१, फियोन हान्डले २० रन र बेट ह्वाइट १९ रनमा नटआउट रहँदा पाहुना टोलीले चुनौतीपूर्ण लक्ष्य प्रश्तुत गर्यो । नेपाल ‘ए’ को बलिङमा रिजन ढकाल र रञ्जित कुमारले समान तीन विकेट लिँदा विकास आग्री र साहब आलमको नाममा समान एक विकेट रह्यो । नेपाल ‘ए’ ले यसअघि पाहुना टोली आयरल्याण्ड ‘ए’ सँगको ट्वान्टी–२० श्रृंखला भने २–१ ले गुमाएको थियो ।
 
इजिप्टद्वारा उत्तरी गाजा पट्टीमा मानवीय सहायता जारी

इजिप्टको सेनाले शनिवार गाजामा महत्वपूर्ण मानवीय सहायता पुर्याउन आफ्नो दैनिक एयरलिफ्ट अपरेशन जारी राखेको छ । 

इजिप्टका सैन्य यातायात विमानहरू, अन्य राष्ट्रहरूसँगको सहकार्यमा, उत्तरी गाजाका बासिन्दाहरूलाई धेरै आवश्यक आपूर्ति गर्दै आएका छन् । यो संयुक्त प्रयासले इजरायली सैन्य हमलाहरूबाट उत्पन्न गम्भीर मानवीय संकटको बीचमा स्थानीय जनसंख्याको दबाबपूर्ण आवश्यकताहरूलाई कम गर्ने लक्ष्य राखेको छ ।

निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक तत्काल संसदमा पेस हुन्छः उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने बताएका हुन् । 

उनले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दल र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वाससमेत व्यक्त गरे । आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरु संसदमा पेस गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोगसमक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताए । उनले ती विधेयकमा अन्तिम छलफल गरेपछि तुरुन्तै संसदमा लैजाने पनि बताए । 

निर्वाचन व्यवस्थापन सम्बन्धि विधेयक र राजनीतिक दलसम्बन्धी संशोधन विधेयकका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग छलफल गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए । 

बैठकमा निर्वाचन आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको पछिल्लो कामकारबाही बारे पनि उपप्रधानमन्त्री लामिछानेलाई बिफ्रिङ गरेका थिए ।  

स्थानीय तहको उपनिर्वाचन मंसिरअघि नै

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् । निर्वाचन आयोगको २०८१ सालको मंसिरमा सो उपनिर्वाचन गर्ने प्रस्तावप्रति इंगित गर्दै उनले त्यसअघि पनि गर्न सकिने धारणा राखे । 

आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले आफूले अध्ययन गरेर त्यसलाई मंसिरअघि नै पनि गर्न सकिने बताए । मंसिरमा सो उपनिर्वाचन गर्ने प्रस्ताव यसअघिको सरकारसँग निर्वाचन आयोगले गरेको र त्यसको अध्ययन गरेर आफूले आवश्यक निर्णय लिने उनले बताए । 

संघ र प्रदेशको उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदै छ । उपप्रधानमन्त्री लामिछानेले स्थानीय तहको उपनिर्वाचन पनि छिट्टै गर्ने पक्षमा आफू रहेको बताए । 

अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छः श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आइतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताएका हुन् । 

वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेस गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको उनले बताए । अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको उनले बताए ।
 
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागजहरु अनलाइनबाट कागजात पेस गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृति पाउनसक्ने बताए । श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबी गरे । 

सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको उनले बताए । मन्त्री अर्यालले अहिले दुई सिफ्टमा काम भइरहेको भन्दै उनले अब बिहान १० देखि ५ बजेसम्मका गर्ने वातावरण बनाउने बताए । 

मन्त्री अर्यालले पहिलोपटक यो प्रयास सुरुवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । उनले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणा गरे । आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने उनले दाबी गरे । 

वैदेशिक रोजगारीमा जाने श्रमिकहरु ठगी रोक्नको लागि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा रहेको बिमा, स्वास्थ्य, अभिमुखीकरणलगायत अन्य कुनै पनि विषयमा सिण्डिकेट लाग्न नदिने उल्लेख गरे ।
 
आगामी आर्थिक वर्षको बजेट समावेशी र वस्तुपरक हुन्छः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट समावेशी र वस्तुपरक हुने बताएका छन् । आइतबार नेपाल व्यवस्थापन संघ (म्यान)ले आयोजना गरेको प्रिबजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्रीले गत वर्ष लिएको प्रतिबद्धताअनुसार आगामी वर्षको बजेट समावेशी, पारदर्शी र सहभागितामूलक आउने बताए । मन्त्री पुनले बजेट समावेशी, पारदर्शी र सहभागितामूलक बनाउन सरकारले ३ महिना पहिला बजेट विनियोजनका बजेटका सिद्धान्त र प्राथमिकता माथि संसदमा छलफल भएर आवश्यक सुझावहरु लिएको दाबी गरे । 

नीति तथा कार्यक्रमसँग बजेट नबाझिने तथा बजेटपछि आउने मौद्रिक नीतिसँग मिलाए ल्याउने कोसिस भइरहेको उनले उल्लेख गरे । 

  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार २३:१४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया