logo-img

विराटको विराट इनिङका बाबजुद लय समात्न नसकेको आरसिबी [भिडियोसहित]
तस्बिर : बीसीसीआई

नेपाली समाजमा एउटा भनाइ छ ‘१२ वर्षमा खोला पनि फर्कन्छ’ । यो भनाइ चरितार्थ भएको उदाहरण प्रशस्तै छन् । तर, इण्डियन प्रिमियर लिग (आइपिएल) क्लब रोयल च्यालेन्जर्स बेंगलुरु अर्थात् आरसिबीको हकमा भने यो उखानले काम गरेको छैन । 

१६ वर्षसम्म आइपिएल उपाधि जित्न नसकेकोआरसिबी​लाई अभागी टिम पनि भनिन्छ । र, जारी संस्करणमा पनि उसले उपाधि जित्ने संकेत देखाएका छैन । पाँच म्याच खेलिसक्दा आरसिबीले केवल एक खेलमा मात्र जित निकालेको छ । उसले पहिलो खेलमा चेन्नईसँग ६ विकेटको हार बेहोर्दै लिगको सुरुवात गरेको थियो ।

उद्घाटन खेलमै पराजित आरसिबीले घरेलु मैदानमा भएको दोस्रो म्याचमा पञ्जाबविरुद्ध चार विकेटको जित निकाल्यो । त्यसपछि उसले थप दुई खेल घरेलु मैदानमै खेल्यो । तर, आरसिबीले घरेलु मैदानको फाइदा भने उठाउन सकेन । उसले आफ्नो तेस्रो र चौथो खेलमा क्रमशः कोलकातासँग ७ विकेट र लखनउसँग २८ रनको हार बेहोर्‍यो । 

ह्याट्रिक हारबाट जोगिन जयपुरतिर हिँडेको आरसिबीको टोली त्यहाँ राजस्थानसँग ६ विकेटले पराजित भयो । लगातार तेस्रो तथा समग्रमा चौथो हारले आरसिबीको प्लेअफ यात्रा कठिन बन्ने देखिएको छ । यद्यपि उसले अझै ९ खेल खेल्न बाँकी छ ।  

आरसिबी अहिले अंक तालिकाको नवौँ स्थानमा छ । टिमले लगातार खराब प्रदर्शन गरे पनि पूर्वकप्तान विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । लिगको १९ खेल सकिँदा उनी सर्वाधिक रन बनाउने मामलामा नम्बर वानमा छन् ।



कोहलीले पाँच म्याच खेल्दा दुई अर्धशतक र एक शतकको सहयोगमा सर्वाधिक ३ सय १६ रन बनाएका छन् । यद्यपि उनको स्ट्राइक रेटमाथि भने समर्थकले प्रश्न उठाइरहेका छन् । तथ्यांक हेर्दा भने कोहलीले आइपिएल २०२४ मा अघिल्लो सात सिजनको भन्दा उत्कृष्ट स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । पाँच खेल खेल्दा उनको स्ट्राइक रेट १४६.३० रहेको छ ।   



कोहलीले लगातार उत्कृष्ट प्रदर्शन गरे पनि अन्य ब्याटरको साथ नमिल्दा आरसिबीले आफूअनुकूल नतिजा निकाल्न सकेको छैन । विशेषगरी आरसिबीका विदेशी खेलाडीको प्रदर्शन निकै कमजोर छ । लगातार प्लेइङ–११ को हिस्सा रहेका कप्तान फाफ डुप्लेसिस, ग्लेन म्याक्सवेल र क्यामरुन ग्रीनको ब्याट चल्न सकेको छैन । म्याक्सवेल र क्यामरुन त जारी सिजनको सुरुवातमा फ्लप नै देखिएका छन् । 

विश्व क्रिकेटका स्टार मानिने म्याक्सवेलले जारी आइपिएलमा ५ म्याच खेल्दा ३२ रन मात्र जोडेका छन् । यस्तै, ग्रीनले ५ खेलमा ६८ रन मात्र बनाएका छन् । मध्यक्रमका ब्याटरको कमजोर प्रदर्शनले आरसिबी अहिले तनावमा छ । साथै, उसका बलरले पनि अपेक्षाकृत प्रदर्शन गर्न सकेका छैनन् ।  

आरसिबीले जारी सिजनको पाँचमध्ये चार खेलमा १८० प्लसको स्कोर बनाएको छ । तर, बलर पनि लयमा नदेखिँदा उसले ती चारवटै खेलमा ‘डिफेन्ड’ गर्न सकेन । अब आरसिबीले आफ्नो छैटौँ खेलमा बिहीबार मुम्बई इण्डियन्सको सामना गर्नेछ ।        

  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १२:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया