logo-img

‘क्लासिक’ अर्जुन कुमाल, जो झन् निखारिँदै छन् [भिडियोसहित]
अर्जुन कुमाल, तस्बिर : क्यान

नेपाली क्रिकेटका ‘भविष्य’ मानिएका युवा ब्याटर अर्जुन कुमालले फेरि एकपटक कमालको इनिङ खेलेका छन् । उनले यसपटक आयरल्याण्ड वुल्भ्सविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा उत्कृष्ट शतकीय इनिङ खेलेका हुन् ।

सोमबार भएको उक्त खेलमा अर्जुनले ११८ बलमा १४ चौकाको सहयोगमा १०२ रन बनाए । अनुभवी ब्याटर सस्तैमा आउट हुँदा उनी भने क्रिजमा विपक्षी बलरको टाउको दुखाइ बनिरहे । अर्जुनलाई आउट गर्न आइरिस बलरलाई हम्मेहम्मे नै पर्‍यो । 

अर्को एन्डबाट मजबुत साथ नमिल्दा पनि उनले ‘क्लासिक’ ब्याटिङ गरे । अर्जुनले पहिलो खेलमा १४ बलमा ९ रन जोड्दा दोस्रो म्याचमा भने प्लेइङ–११ मा मौका पाएनन् । उनीबिना खेलेको नेपाल ‘ए’ दोस्रो खेलमा ६० रनमै अलआउट भयो । उक्त लज्जास्पद ब्याटिङले प्रशिक्षक र कप्तान दबाबमा परे । त्यसपछि फेरि अर्जुनलाई प्लेइङ–११ मा राखियो ।

खेल जिताउन नसके पनि अर्जुनले व्यक्तिगत प्रदर्शनबाट प्रशिक्षक र कप्तानलाई निराश बनाएनन् । यद्यपि अनुभवी ब्याटर विनोद भण्डारी, भीम सार्की र देव खनालको ब्याटिङ भने निकै कमजोर रह्यो ।

देव खनाल, फाइल तस्बिर



उनीहरूकै खराब ब्याटिङका कारण पनि आयरल्याण्डसँगको वानडे सिरिजमा नेपाल जितविहीन बन्यो । नेपाल ‘ए’ ले तीनवटै म्याचको पूरा ओभर खेल्न सकेन । त्योक्रम अन्तिम खेलमा पनि दोहोरियो ।

यदि ५० ओभरसम्म क्रिजमा टिक्न सकेको भए नेपालले सहजै खेल जित्ने थियो । तर, अर्जुनले बलियो साथ नपाउँदा नेपाल ‘ए’ तेस्रो खेलमा ३९.४ ओभरमा २ सय १५ रनमै अलआउट भयो । उनी ३४.४ ओभरमा बेन ह्वाइटको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए ।



सुरुवातमा सम्हालिएर खेलेका उनले अर्धशतक पूरा गरेपछि भने रन गति बढाए । र, अर्जुनले ११४ बलमा शतक पूरा गरे । लिस्ट ‘ए’ मा उनको यो पहिलो शतकीय पारी हो । अर्जुनले यस खेलमा मात्र होइन उमेर समूहको क्रिकेटमा ठूल–ठूलो इनिङ खेलिसकेका छन् । 

उनले यही वर्ष भएको यू–१९ विश्वकपमा न्यूजिल्याण्डविरुद्ध ९० रन र गत वर्ष एसिया कपमा अफगानिस्तानविरुद्ध ९१ रनको पारी खेले । एसोसियट टिमविरुद्ध त अर्जुनले पटकपटक शतक हिर्काइसकेका छन् ।

बलियो टिमविरुद्ध प्रभाव छाड्न सफल उनी क्यानको ‘सेन्ट्रल कन्ट्रयाक्ट’को सूचीमा भने अटाएका छैनन् ।

  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १५:४५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया