logo-img

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि  बिजुली आपूर्ति बन्द भएको हो । 

‘२५ मिटर नहर पहिरोले भत्काएको छ । गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो,’ विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने । 

समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्णरूपमा विद्युत् सेवा अवरुद्ध भएको उनले जानकारी दिए । भत्केको नहर मर्मत गर्न ६ लाख रुपैयाँ बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिए ।

विद्युत् अवरुद्ध हुँदा पालिकाका–४, ५ र ६ वडाका करिब ८ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ ।

डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट ३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए । रासस  





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया