प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध हट्ला ?
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने चालू अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । 

यस्तै, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरूसम्बन्धित मन्त्रीबाट टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची पनि छ ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पनि पेस गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।



आजै सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१० बमोजिम १) वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेस गर्ने कार्यसूची रहेको छ ।  

यद्यपि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठक अवरोध गर्ने सम्भावना छ । कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको छ । 



आजको संसद् बैठक बस्नुअघि कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा संसद् अवरोध गर्ने/नगर्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । ​   

  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार ६:४०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया