logo-img

कीर्तिमानको अर्को नाम दीपेन्द्र सिंह ऐरी [भिडियो]

नेपाली क्रिकेटका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरीले फेरि अर्को कीर्तिमान बनाएका छन् । यसपटक उनले एकै ओभरमा लगातार ६ बलमा ६ छक्का हिर्काउँदै कीर्तिमान बनाएका हुन् ।   

दीपेन्द्रले यो उपलब्धि ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न कतारविरुद्धको खेलमा हासिल गरे । उनले पहिलो इनिङको अन्तिम ओभरमा कामरान खानविरुद्ध लगातार ६ छक्का हिर्काए । 

दीपेन्द्र अब नेपालका लागि यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनेका छन् । विश्व क्रिकेटमा भने उनी ६ बलमा ६ छक्का हिर्काउने पाँचौं क्रिकेटर बने । यसअघि यो उपलब्धि दक्षिण अफ्रिकाका हर्षल गिब्स, भारतका युवराज सिंह, वेस्ट इण्डिजका किरण पोलार्ड र अमेरिकाका जसकरण मल्होत्राले हासिल गरेका थिए ।

उनीहरूमध्ये गिब्स र मल्होत्राले एकदिवसीय तथा युवराज र पोलार्डले टी–२० आईमा एक ओभरमा लगातार ६ छक्का हिर्काए । दीपेन्द्र अब टी–२० आईमा यो उपलब्धि हासिल गर्ने तेस्रो क्रिकेटर बनेका छन् ।

उनी पछिल्लो समय नेपालका लागि हरेक वर्ष कीर्तिमानी प्रदर्शन गरिरहेका छन् । दीपेन्द्रले गत वर्षको असोजमा मात्र चीनमा भएको १९औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक हिर्काउँदै विश्वकीर्तिमान बनाएका थिए ।



योसँगै उनले भारतका युवराज सिंहको रेकर्ड भंग गरे । युवराजले सन् २००७ मा १२ बलमा अर्धशतक प्रहार गरेका थिए । ऐरीले फेरि यसपटक युवराजको कीर्तिमानी तोड्न सफल भए । 



कीर्तिमानको अर्को नामले परिचित दीपेन्द्रकै विस्फोटक ब्याटिङको मद्दतमा नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ३२ रनले हरायो । यस खेलमा उनले २१ बलमा सात छक्का र दुई चौकाको सहयोगमा अविजित ६४ रन बनाए ।

साथै, उनले बलिङतर्फ ४ ओभरमा ३४ रन दिएर महत्वपूर्ण २ विकेट लिए । नेपालको जितमा  नायक साबित भएका ऐरी लगातार दोस्रो खेलमा पनि ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

उनले पहिलो खेलमा मलेसियाविरुद्ध ११ बलमा २० रन बनाउनुका साथै २ विकेट लिएका थिए । दीपेन्द्रकै उच्च प्रदर्शनका कारण नेपाल समूह ‘ए’ को तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले अब प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा सोमबार हङकङको सामना गर्नेछ । 

  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १७:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया