६ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छ । हमासको कब्जामा रहेका इजरायली नागरिकहरूलाई छुटाउन इजरायलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्धविरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ ।
हमासले इजराइली बन्दीहरूको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने सर्त राखेको छ । एक मिडियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हमासले युद्धविराम र बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्तामार्फत यस्ता सर्त अघि सारेको हो ।
हमासले १२९ जना बन्धकलाई रिहा गर्नुअघि इजरायलले ६ हप्ताको युद्धविराम गर्नुपर्ने माग गरेको हो । तर इजरायली सरकारको भने यसबारे कुनै प्रतिक्रिया आएको छैन ।
हमासले ६ हप्तासम्म युद्धविराम गरेपछि मात्रै इजरायली नागरिकलाई रिहा गर्ने भनेको हो । त्यस्तै, प्रति इजरायली नागरिकका लागि ३० प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने हमासको सर्त छ । साथै, यसले प्रत्येक कब्जा गरिएका सैनिकको लागि ५० प्यालेस्टिनी कैदीलाई रिहा गर्नुपर्ने भनेको छ ।
हमासले ७ अक्टोबरमा इजरायली सहरमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेर आक्रमण सुरु गरेको थियो । यसपछि हमासका आतंककारीले इजरायलमा प्रवेश गरी मानिसको हत्या गरेका थिए । यसको जवाफमा इजरायलले गाजामा हमासका आतंककारीविरुद्ध कारबाही सुरु गरेको थियो ।
यस अपरेसनमा गाजामा हमासको स्थानमा व्यापक बमबारी भयो, जसका कारण गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ । इजरायल र गाजामा गरी हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।