logo-img

शान्त धोनीको आक्रामक ब्याटिङ [भिडियो]

क्रिकेट करियरको उत्तरार्द्धमा रहेका महेन्द्र सिंह धोनी अहिले पनि उत्तिकै फुर्तिला छन् । उनले यसको प्रमाणित भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा पनि गरेका छन् ।

शान्त स्वभावका खेलाडीका नामले परिचित ४२ वर्षीय धोनी ब्याटिङबाट भने हाल पनि आक्रामकरूपमा प्रस्तुत हुन्छन् । उनले आइतबार राति सम्पन्न मुम्बई इण्डियन्सविरुद्ध पनि त्यस्तै ब्याटिङ गरे । अन्तिम ओभरमा क्रिजमा प्रवेश गरेका धोनीले ४ बल मात्र खेल्न पाए । 

क्रिजमा आउनासाथ पहिलो बलमै छक्का हिर्काउन कुनै पनि ब्याटरलाई सहज हुँदैन । तर, धोनीले त्यसलाई सहजरूपमा लिँदै विपक्षी बलरलाई दबाबमा राखे । र, उनले सानदार फिनिसिङ गरे ।

दर्शकले खचाखच भरिएको वानखेडे स्टेडियममा पहिलो इनिङको अन्तिम ओभरमा बलिङमा थिए, मुम्बईका कप्तान हार्दिक पाण्ड्या । उनले उक्त ओभरको दोस्रो बलमा विकेट लिइसकेका थिए । तर, हार्दिक बाँकी बलमा भने महँगा साबित भए । 



उनको तेस्रो, चौथो र पाँचौं बलमा धोनीले लगातार तीन छक्का हिर्काए । अन्तिम बलमा २ रन जोडेका उनले चेन्नईलाई २ सय ६ रनको स्कोरमा पुर्याए । मुम्बईविरुद्ध धोनीको स्ट्राइक रेट ५ सयको थियो । उनकै विस्फोटक ब्याटिङको मद्दतमा अन्तिम ओभरमा चेन्नईले २६ रन जोड्यो । सोही कारण पनि सिएसकेले मुम्बईलाई घरमै २० रनले स्तब्ध बनायो । 

धोनी यस खेलमा मात्र होइन दिल्ली क्यापिटल्सविरुद्ध पनि आक्रामक प्रस्तुत भएका थिए । उक्त खेलमा उनले १६ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ३७ रन बनाए ।



जारी सिजनमा चेन्नईले ६ खेल खेल्दा धोनीले ४ म्याचमा ब्याटिङ गरेका छन्, जसमा उनले २ सय ३६ को सानदार स्ट्राइक रेटमा ५९ रन बनाएका छन् । आइपिएलमा धोनीको यो करियरकै उत्कृष्ट स्ट्राइक रेट हो ।

योसँगै उनी चेन्नईका लागि ५ हजार रन गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । धोनीभन्दा अगाडि सुरेश रैना मात्र छन् । उनले चेन्नईका लागि ५ हजार ५२९ रन बनाएका थिए । 

धेरै समर्थकले आउँदो सिजनमा पनि धोनीलाई आइपिएल खेलेको देख्न चाहेका छन् । तर, उनी भने यही सिजनलाई नै अन्तिम बनाउने मुडमा छन् । सोही कारण पनि धोनीले युवा ब्याटर रुतुराज गायकवाडलाई कप्तानी सुम्पिसकेका छन् ।

यद्यपि कप्तानको भूमिकामा नहुँदा पनि हाल चेन्नईको नेतृत्व धोनीले नै गरिरहेको अनुभूति हुन्छ, जसले गर्दा पनि चेन्नईले ६ खेल खेल्दा ४ म्याचमा जित निकाल्न सफल भएको छ । 

धोनी गत वर्ष शल्यक्रिया गरेको घुँडाको चोटका कारण हाल पनि पूर्णरूपमा फिट देखिँदैनन् । सोही कारण पनि उनी ब्याटिङका लागि अन्तिमतिर मात्र आउने गरेका छन् ।

साथै, पिचमा पनि धोनी दौडिएर रन लिनुको सट्टा ठूला शटमा जोड दिइरहेका छन् । त्यसकारण उनी आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै आइपिएल २०२४ खेलेर क्रिकेटबाट बिट मार्ने योजनामा छन् । र, धोनी जारी आइपिएललाई थप स्मरणयोग्य बनाउन चाहन्छन् । यद्यपि यो नै उनको अन्तिम आइपिएल हुने/नहुने कुरा त चेन्नईको आगामी खेलहरूले पनि निर्धारण गर्नेछ ।   

  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १५:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया