नेपाली क्रिकेट टिमका चार कप्तान, को कति सफल ? [भिडियोसहित]
रोहितको नयाँ कीर्तिमान

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको प्रतियोगिता खेल्न थालेपछि नेपाली टिमले चारजना कप्तान पाएको छ । सन् २०१४ मा नेपालले आधिकारिकरूपमा टी–२० आईमा डेब्यू गरेको थियो ।

सो वर्षदेखि पारस खड्काले नेपाली टिमको कप्तानी सम्हाले । उनको कप्तानीमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गर्‍यो । पारसले आफ्नो नेतृत्वमा नेपाललाई विश्वकपमा पुर्‍याउनुका साथै एकदिवसीय मान्यता दिलाए । उनको कप्तानीमा नेपालले सन् २०१४ देखि २०१९ सम्म खेल्यो, जसमा पारसले २७ टी–२० आई र ६ ओडिआई खेलमा कप्तानी गरे ।  

उनको कप्तानीमा नेपालले ६ ओडिआईमध्ये तीनमा जित र तीन खेलमा हार बेहोर्‍यो । टी–२० आईमा पारसको नेतृत्वमा नेपालले २७ मध्ये १५ मा हार तथा ११ खेलमा जित निकाल्यो । उनीपछि नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाले । 

उनले सन् २०१९ देखि २०२१ सम्म नेपाली टिमको कप्तानी सम्हालेका हुन्, त्यसक्रममा ज्ञानेन्द्रले १२ टी–२० आई र १० ओडिआईमा टिमको नेतृत्व गरे । जसमा उनी टी–२० मा सफल देखिए । ज्ञानेन्द्रको कप्तानीमा नेपालले १२ मध्ये ९ खेलमा जित निकाल्दा तीन खेलमा मात्र हार बेहोर्यो । यस्तै, उनको कप्तानीमा नेपालले १० ओडिआईमध्ये ६ मा जित र चार खेलमा हारको सामना गर्‍यो । 



ज्ञानेन्द्र बर्खास्तमा परेपछि नेपाली टिमको कप्तानी स्पिनर सन्दीप लामिछाने पाए । उनको नेतृत्वमा नेपालले १८ टी–२० आई र १४ ओडिआई खेल्यो । एक वर्ष मात्र कप्तानको जिम्मेवारी पाएका सन्दीप सो भूमिकामा ओडिआईभन्दा टी–२० आईमा सफल देखिए । 

उनको कप्तानीमा नेपालले १८ टी–२० आई खेल्दा १३ मा जित निकाल्दा पाँच खेलमा मात्र हार बेहोर्‍यो । ओडिआईमा भने सन्दीपको कप्तानीमा नेपालको प्रदर्शन सन्तोषजनक रहेन । उनको नेतृत्वमा खेलिएको १४ ओडिआईमध्ये नेपालले ९ मा पराजय, चारमा जित र एक खेलमा बराबरी खेल्यो ।



सन्दीपपछि हाल नेपाली टिमको कप्तानमा रोहितकुमार पौडेल रहेका छन् । तथ्यांक हेर्दा उनी नेपालका सर्वाधिक सफल कप्तान बनेका छन् । हालसम्म रोहितको कप्तानीमा नेपालले सर्वाधिक ३६ ओडिआई खेलेको छ, जसमा नेपालले २१ खेलमा जित निकाल्दा १४ खेलमा हार बेहोरेको छ ।

यस्तै, उनको नेतृत्वमा नेपालले २६ टी–२० आई खेल खेलेको छ, जसमा नेपालले १६ मा जित आठमा हार तथा एक खेल बराबरी खेलेको रेकर्ड छ । ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले लगातार चार जित निकालेसँगै रोहितले कप्तानको रूपमा सन्दीप लामिछानेलाई पछि पारेका छन् । योसँगै रोहितले दुवै ढाँचामा सर्वाधिक खेलमा कप्तानी गर्ने सफल कप्तानको रेकर्ड बनाएका छन् ।

उनको कप्तानीमा नेपालले टी–२० विश्वकपमा स्थान बनाउनुका साथै एसिया कप खेलेको छ । साथै, रोहितको नेतृत्वमा नेपालले एसिसी प्रिमियर कप उपाधि जित्नुका साथै एकदिवसीय विश्वकप छनोट खेलिसकेको छ ।   

  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार ७:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया