logo-img

एसिसी प्रिमियर कप सेमिफाइनल : यूएईविरुद्ध कहाँ-कहाँ चुक्यो नेपाल ?
तस्बिर : क्यान

नेपाली टिम ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगिताको फाइनलमा पुग्न चुकेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग ६ विकेटले पराजित भएपछि नेपाल फाइनल पुग्न चुकेको हो । 

योसँगै लगातार दोस्रोपटक एसिया कप खेल्ने नेपालको सपना समाप्त भयो । सेमिफाइनलमा नेपालले यूएईसँग निकै खराब ब्याटिङ गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यस खेलमा १ सय १९ रन मात्र बनाउन सक्यो । १ सय २० रनको लक्ष्यका साथ जवाफी ब्याटिङ उत्रेको यूएई १७.२ ओभरमा ४ विकेट गुमाएर विजयी भयो ।

सेमिफाइनलमा नेपाल हार्नुको मुख्य पाँच कारण :

१. खराब सुरुवात 

यूएईसँग नेपाल हार्नुको प्रमुख कारण खराब ब्याटिङ सुरुवात नै हो । सेमिफाइनलजस्तो महत्वपूर्ण खेलमा नेपालले ब्याटिङमा पावरप्लेको सदुपयोग त के त्यसको सामान्य फाइदा पनि उठान सकेन । कुशल पहिलो बलमै आउट हुँदा दबाबमा परेको नेपाली टिम खुल्न सकेन । 



फलस्वरूप अर्का ओपनर आसिफ शेख ११ बल खेल्दा ८ रनमा एल्बीडब्लू धरापमा परे । यसरी नेपालले ३.३ ओभरमा ११ रन मात्र जोड्दा महत्वपूर्ण २ विकेट गुमायो । त्यसले गर्दा पछि आउने ब्याटरलाई थप दबाब बढ्यो ।



२. रोहितको ब्याटिङ 

नेपाल हारको अर्को कारण कप्तान रोहितकुमार पौडेलको ब्याटिङ पनि रह्यो । उनी आधा पावरप्ले बाँकी हुँदा नै क्रिज प्रवेश गरेका थिए । तर, रोहितले अत्यधिक डट बल खेलेर आफू र सहकर्मी खेलाडीमाथि दबाब थपे । र, उनले ३ ओभर अर्थात् १८ बलको सामना गर्दा मात्र पाँच रन जोडे । 

यदि रोहितले सिंगल/डबलमा पनि जोड दिएर पारी सम्हाल्न सकेको भए नेपालले यूएईलाई प्रतिस्पर्धात्मक लक्ष्य दिने सम्भावना थियो । तर, उनले महत्वपूर्ण खेलमा कप्तानी पारी खेल्न सकेनन् । 

३. प्लेइङ–११ मा चुक 

सेमिफाइनलमा नेपाल पराजितको अर्को कारण हो, प्लेइङ–११ चयनमा कमजोरी । जारी प्रतियोगितामा ओपनिङ ब्याटरद्वय कुशल र आसिफ लयमा देखिएका छैननन् । विशेषगरी कुशल खराब लयमा छन् । उनी अघिल्लो खेलमा मात्र साउदी अरेबियाविरुद्ध शून्यमै आउट भएका थिए । 

साथै, मलेसिया र कतारविरुद्ध पनि सस्तैमा पवेलियन फर्किए । तर, आसन्न टी–२० विश्वकपको तयारीका लागि भन्दै मुख्य प्रशिक्षक मोन्टी देसाईले कुशललाई सेमिफाइनलमा पनि ओपनिङमा निरन्तरता दिए । तर, खराब लयबाट गुज्रिरहेका उनी फेरि शून्यमै आउट भए । 

कुशलको खराब फर्मलाई ध्यानमा राखेर सेमिफाइनलमा अनिलकुमार साहलाई मौका दिएको भए नेपालले यूएईलाई हराउन पनि सक्थ्यो । तर, टिममा स्थान पाएका अन्य १३ खेलाडीले कुनै न कुनै खेलमा मौका पाउँदा अनिल भने नेपालले ५ म्याच खेल्दा बेन्चमै सीमित बने । 

४. पिचको स्वभाव परिवर्तन  

नेपाल र यूएईबीचको सेमिफाइनल खेल ओमान क्रिकेट एकेडेमीको ग्राउन्ड वानमा भएको थियो । यही मैदानमा अघिल्लो खेलमा पहिलो इनिङमा पनि राम्रो स्कोर बनिरहेको थियो ।

फाइल तस्बिर

साथै, ती खेलमा आउटफिल्ड साइट पनि राम्रो थियो । तर, नेपाल र यूएईबीच खेलिएको सेमिफाइनल  पिच ब्याटरका लागि प्रतिकूल रह्यो । त्यसको फाइदा यूएईका बलरले उठाए । अघिल्लो खेलहरू हेर्ने हो भने यूएईका बलर लयमा देखिएका थिएनन् । उनीहरू विकेट लिन संघर्ष गरिरहेका थिए । तर, सेमिफाइनलको पहिलो इनिङमा भने यूएईका बलरका लागि पिच निकै फलदायी रह्यो ।

५. बलरको सही प्रयोग गर्न नसक्नु

सेमिफाइनलमा नेपाल हार्नुको अर्को कारण खराब कप्तानी पनि रह्यो । कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध पछिल्लो समय राम्रो लयमा रहेका तीव्र गतिका बलर अविनाश बोहरालाई एक ओभर पनि बलिङ गर्न दिएनन् । अविनाशले समूह चरणको ४ खेलमा ७ विकेट लिएका थिए । साथै, यूएईविरुद्ध उनको विगत रेकर्ड पनि राम्रो थियो । 

हालसम्म अविनाशले यूएईविरुद्ध टी–२० आईमा नेपालको तर्फबाट सबैभन्दा बढी १४ विकेट लिएका छन् । तर, आज कप्तानले उनैलाई बलिङको अवसर दिएनन् । बरु रोहितले कुशल भुर्तेललाई बलिङमा प्रयोग गरे ।

कुशलले २ ओभरमा बिनाविकेट १९ रन दिए । यस्तै, रोहितले दुई ओभरमा ७ रन मात्र दिएका दीपेन्द्रलाई बाँकी ओभर बलिङ गर्न दिएनन् । यूएईविरुद्ध उनले ६ बलरलाई प्रयोग गरे ।  

  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १६:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया