सुकुम्बासी वस्ती हटाउने पक्षमा मेयर बालेन, सकसमा गृहमन्त्री लामिछाने
बालेनलाई सहयोग गरे रविको गृहमन्त्री पद धरापमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले चैत अन्तिमतिर सुकुम्बासी वस्तीको समस्या लिएर गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेसँग भेट गरे । स्रोतका अनुसार, २२ चैतको उक्त भेटमा वस्ती हटाउन के–कस्ता विकल्प अघि सार्न सकिन्छ भन्नेबारे छलफल भयो । 

महानगरको मेयरमा निर्वाचित भएदेखि नै काठमाडौंलाई सफा र सुन्दर बनाउने योजनाका साथ हिँडेका बालेनले आफ्नो क्षेत्रभित्र रहेका खोलाका किनार कब्जा गरेर बसेका अवैध वस्तीलाई हटाउने प्रयास गरिरहेका छन् ।

फाइल तस्बिर

महानगरले त्यस्ता वस्ती हटाउन गरेको पटक–पटकको प्रयास असफल भएपछि मेयर बालेनले गृह प्रशासनको आवश्यकता महसुस गर्दै आएका छन् । तर, उनको अभियानले सोचेअनुसार सार्थकता पाउन सकेको छैन । मेयर साहले सुकुम्बासी वस्ती हटाउन नसक्नुको मुख्य कारण हो– राजनीति ।

सुकुम्बासी वस्तीमा बस्ने अधिकांश व्यक्तिलाई ठूलै दलको राजनीतिक संरक्षण रहेका कारण मेयर साहको उक्त प्रयास असफल हुँदै आएको छ । महानगरसँग भएका प्रहरी र स्रोतसाधनले मात्र सुकुम्बासी वस्ती हटाउन सम्भव नदेखिएपछि बालेनले पटक–पटक उक्त विषयलाई गृह मन्त्रालयसम्म पुर्याउने गरेका छन् ।

यसअघिका गृहमन्त्रीबाट साथ नपाएका मेयर साहले वर्तमान गृहमन्त्री लामिछानेबाट सहयोग मिल्ने अपेक्षासहित भेटघाट गर्ने गरेका छन् । तर, गृहमन्त्री लामिछाने नै मेयर साहलाई सहयोग गर्ने कि नगर्ने भन्ने अन्योलमा छन् ।



फाइल तस्बिर

मेयर साहलाई सहयोग गर्दा आफ्नो पद नै धरापमा पर्ने देखेपछि लामिछानेले पनि उनलाई खुलेर साथ दिन नसकेका हुन् । सुकुम्बासी वस्तीमा अधिकांश नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता रहेकाले मेयर साहलाई साथ दिन गृहमन्त्री लामिछानेलाई सकस भएको छ ।



उनले बालेनलाई साथ दिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रुष्ट हुने पक्का छ । किनकि अध्यक्ष ओली र प्रचण्डले काठमाडौं केन्द्रित पार्टीका विभिन्न कार्यक्रम तथा आन्दोलनमा तीनै वस्तीका मानिसलाई सडकमा उतार्ने गरेका छन् । त्यसैले कुनै पनि पुराना राजनीतिक दल सुकुम्बासी वस्तीलाई चलाउने पक्षमा छैनन् । 

बालेनलाई साथ दिए सत्ता गठबन्धनमै धक्का पर्ने देखिएपछि गृहमन्त्री लामिछाने पनि निर्णय लिइहाल्न हच्चिएको जस्तो देखिन्छन् । यसअघि गत १२ माघमा भएको भेटमा पनि गृहमन्त्री लामिछानेसँग मेयर बालेनले सुकुम्बासी वस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका थिए ।

फाइल तस्बिर

एकीकृत बागमती सभ्यता विकास समिति र महानगरको टोलीले लामिछानेलाई भेटेर १२ मंसिरमा थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउन जाँदा भएको घटनाको विवरण सुनाउँदै सहयोगको अपेक्षा गरेका थिए । 

सुकुम्बासी वस्ती हटाउनुपर्ने कारण देखाउँदै आएका बालेनलाई खुलेर साथ दिँदा गठबन्धनका शीर्ष नेता रुष्ट हुने देखिएपछि गृहमन्त्री लामिछानेले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएको देखिँदैन । जसरी पनि सुकुम्बासी वस्ती हटाउनुपर्छ भन्ने अड्डी कसेका मेयर साहले गृह प्रशासनको आवश्यकता महसुस गरे पनि अहिलेसम्म साथ भने पाउन सकेका छैनन् ।   

  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १७:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया