logo-img

त्रिवि उपकुलपति बरालको सोचपत्र सार्वजनिक, के-के छन् चार बर्से कार्ययोजना ? [सोचपत्रसहित]

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले आफ्नो सोचपत्र सार्वजनिक गरेका छन् । गत १० फागुनमा त्रिविको उपकुलपतिमा नियुक्त भएका बरालले शुक्रबार आफ्नो चारबर्से कार्यकालमा गर्ने काम तथा क्रियाकलाप समेटिएको सोचपत्र सार्वजनिक गरेका हुन् ।

उपकुलपति बरालले कामलाई विभिन्न चरणमा विभाजन गरेर ‘त्रिभुवन विश्वविद्यालयको समग्र सुधार कार्ययोजना–२०८०–०८४’ लाई आफ्नो सोचपत्रमा समेटेका छन्, जसमा शैक्षिक क्यालेन्डर निर्माणदेखि भौतिक सुविधासम्मका विषय समावेश गरिएको छ ।

उनले पहिलो वर्षका रूपमा २०८० फागुनदेखि २०८२ असारसम्मको अवधिलाई छुट्याएका छन् । उक्त अवधिमा उनले शैक्षिक क्यालेन्डर निर्माण, कार्यान्वयन र त्यसको अनुगमनसमेत गर्ने योजना बनाएका छन् ।

यस्तै, समयमा परीक्षाफल प्रकाशन गर्न आवश्यक कार्य पनि उनले यही अवधिमा गर्ने उल्लेख गरेका छन्, जहाँ परीक्षासम्बन्धी सूचना प्रविधि र ततसम्बन्धी मौजुदा जनशक्तिको मूल्यांकन र विश्लेषण गरिनेछ । शैक्षिक कार्यक्रम र पाठ्यक्रमसम्बन्धी काम पनि उपकुलपति बरालले यही समयमा गर्ने योजना सार्वजनिक गरेका छन्, जसमा मौजुदा शैक्षिक कार्यक्रमको पुनरावलोकन र नयाँ शैक्षिक कार्यक्रम तर्जुमा हुनेछन् । श्रम बजारसँग सान्दर्भिक नभएका कार्यक्रमको पहिचान गरी नयाँ कार्यक्रम तयार गरिनेछ ।

विश्वविद्यालयको पुनर्संरचना पनि यही अवधिमा गर्ने बरालले आफ्नो सोचपत्रमा उल्लेख गरेका छन् । पुनर्संरचनासम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी कामलाई अघि बढाउने उनको योजना छ । यही अवधिमा पठनपाठनसम्बन्धी काम पनि गरिनेछ, जसमा प्रत्येक कार्यक्रमको प्रत्येक समूहको विद्यार्थी संख्या निर्धारण गर्ने काम हुनेछ । पठनपाठनका लागि आवश्यक भौतिक सुविधाको मूल्यांकनसमेत हुनेछ ।

सूचना प्रविधिको उपयोग पनि यही समयमा गर्ने उपकुलपति बरालको योजना छ । जनशक्ति व्यवस्थापन २०८२ असारभित्रै गर्ने योजना बनाएका बरालले विश्वविद्यालयको शिक्षण सेवा (करार, कोर्स करार र आंशिकसमेत) का सबै तहमा प्रवेश गर्नको लागि आवश्यक योग्यताको पुनरावलोकन गर्नेछन् ।



त्यस्तै, त्रिविको साधन र स्रोतको व्यवस्थापनसम्बन्धी काम पनि आगामी २०८२ असारभित्रै गर्ने सोच उपकुलपति बरालले लिएका छन् । जहाँ  विश्वविद्यालयको मौजुदा भौतिक समाधान (विशेष गरेर जग्गा, र घर) र स्रोतको व्यवस्थापनसम्बन्धी अध्ययन गरी सम्भाव्य स्रोतको परिचालन गरिनेछ । यही अवधिमा विद्यार्थीबाट हुनसक्ने स्रोत परिचालन र उपयोगितासम्बन्धी योजना पनि बन्नेछ ।

आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको सुदृढीकरण गरी सबै क्याम्पसहरूलाई गुणस्तर सुनिश्चितता र प्रत्यायन प्रक्रियामा लागि गुणस्तर अभिवृद्धि कार्यको सुरुवात गरिनेछ ।



यही अवधिमा प्राज्ञिक उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने योजनामा उपकुलपति बराल छन् । यसैगरी २०८२ साउनदेखि २०८३ असारसम्मको अवधिलाई उपकुलपति बरालले दोस्रो वर्षका रूपमा कार्यविभाजन गरेका छन् ।

यस अवधिमा बरालले शैक्षिक कार्यक्रमसम्बन्धी काम गर्ने जनाएका छन् । जसमा पहिलो वर्ष पहिचान गरिएका नयाँ शैक्षिक कार्यक्रमहरूको सम्भाव्यता अध्ययन हुनेछ । भौतिक सुविधाको निर्माण पनि यही अवधिमा हुनेछ । यस वर्ष नयाँ कार्यक्रम र महाविद्यालयहरूको लागि आवश्यक भौतिक सुविधा निर्माण हुनेछ ।

यस वर्ष स्रोत परिचालनसम्बन्धी कामले पनि तीव्रता पाउने छ । विद्यार्थीबाट परिचालित हुने स्रोतको अधिकतम परिचालन गर्ने सोच उपकुलपति बरालले बनाएका छन् । गरिब विद्यार्थीलाई राहत दिन छात्रवृत्ति नियमावली र विद्यार्थी सहायता नियमावली कार्यान्वयन गर्ने काम पनि यही वर्ष हुनेछ ।

यस्तै, तेस्रो वर्ष अर्थात् २०८३ साउनदेखि २०८४ असारसम्मको अवधिमा विश्वविद्यालयको पुनर्संरचना र भौतिक पूर्वाधार निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाउने उपकुलपति बरालको योजना छ । उनले अन्तिम वर्ष २०८४ साउनदेखि माघसम्ममा भौतिक सुविधासम्बन्धीका काम गर्ने सोचपत्रमा उल्लेख गरेका छन् । 

त्रिवि उपकुलपति बरालको सोचपत्र :

  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार १९:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया