logo-img

कम्युनिष्ट पार्टीहरूलाई कटाक्ष गर्दै भीम रावलको प्रश्न- ‘सधैँ सत्ता केन्द्रित मात्रै भइरहने ?’

नेकपा एमालेका नेता भीमबहादुर रावलले देशका कम्युनिष्ट पार्टीहरू सत्ता केन्द्रित मात्रै भएको टिप्पणी गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले कम्युनिष्ट पार्टीहरू सत्ता केन्द्रित मात्रै भइरहँदा संविधानमा उल्लिखित समाजवाद उन्मुख प्रणालीको रूपरेखा समेत नदिएको बताए । 

उनले भने,‘कतिपय कम्युनिष्ट पार्टीहरूले देशको स्वाधीनताको रक्षा गर्ने भन्ने आज के भएको छ?दुई तिहाइको सरकार बने, कम्युनिष्ट पार्टी बने, यत्रो छलफल २४ औँ घण्टा बाह्रैमास सत्ता सत्ता सत्ता । बुद्ध चित्तको माला जस्तै त्यो बाहेक खै छलफल?समाजवादी व्यवस्था ल्याउन कुनै पहल व्यवस्था गर्न त पर जाओस्, नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रूप रेखा समेत नदिने ?’

उनले राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लङ्घन गर्छ त्यसलाई संघीय कानुन बमोजिम दण्डित गर्ने भनेको भए तापनि प्रधानमन्त्रीले त्यो कानुन किन ल्याउन नसकेको भन्दै प्रश्न गरे । 

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन नै बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको पनि उनले बताए ।काम गर्न नसक्नेलाई पत्याउने आधार कमजोर बनेको उनको जिकिर छ । 

वर्तमान सत्ता गठबन्धनमा तीन कम्युनिष्ट पार्टीहरू छन् । माओवादी, एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेपछि हालै कांग्रेस सत्ताबाट बाहिरिएको हो । एमालेमै फरक मतका नेता मानिने रावलले कुनै पनि दलको नाम नलिई वामपन्थी दलहरूलाई सत्तालिप्सा नघट्दा काम गराइ इमानदार हुन नसकेको भन्दै कटाक्ष गरे ।

उनले भने,‘राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लङ्घन गर्छ त्यसलाई संघीय कानुनबमोजिम दण्डित गर्ने भनेको छौं । प्रधानमन्त्रीले त्यो कानुन किन ल्याएको ?
त्यति त नगर्नेले कम्युनिष्ट पार्टीको बाटो पछ्याइरहन्छ र अनि उसले चाहिँ कम्युनिष्ट विरोधीहरूसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै बनेन ।’



दलहरूले आफूलाई कम्युनिष्ट भनिरहँदा कम्युनिष्ट जसरी साख जोगाउने काम गर्न नसकेको उनले बताए ।  



  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया