logo-img

गुजरातविरुद्ध दिल्लीको रोमाञ्चक जित, ऋषभ पन्तको आक्रामक ब्याटिङ

दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा चौथो जित निकालेको छ । चौथो जित दर्ता गर्नेक्रममा गएराति सम्पन्न खेलमा दिल्लीले गुजरात टाइटन्सलाई चार रनले हरायो ।  

दिल्लीले ९ खेल खेल्दा पाँच खेलमा भने हारको सामना गरेको छ । गुजरातले पनि अहिलेसम्म पाँचमा हार तथा चार खेलमा जित निकालेको छ । आफ्नो नवौँ खेलमा दिल्लीले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो ।

उसका लागि साई सुदर्शनले ३९ बलमा सात चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै, डेविड मिलरले २३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५५ रनको इनिङ खेले । ओपनर ऋद्धिमान साहले ३९, राशिद खानले अविजित २१ र साइ किशोरले १३ रन जोडे ।

दिल्लीका लागि रसिक सलामले तीन, कुलदीप यादवले दुई, अक्षर पटेल, मुकेश कुमार तथा एनरिक नोर्टजेले एक/एक विकेट लिए । त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २४ रन बनायो ।



उसका लागि कप्तान ऋषभ पन्तले सानदार इनिङ खेले । ४३ बलको सामना गरेका उनले ८ छक्का र ५ चौकासहित अविजित ८८ रन बनाए । जारी आइपिएलमा पन्तको यो तेस्रो अर्धशतकीय पारी हो । योसँगै उनी आइपिएल २०२४ मा सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा उक्लिएका छन् ।



जारी संस्करणमा पन्तले ९ खेल खेल्दा १६२.३२ को स्ट्राइक रेटमा ३ सय ४२ रन बनाएका छन् । यस्तै, गुजरातविरुद्ध अक्षर पटेलले पनि अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए । यस्तै, ट्रिस्टन स्टब्सले अविजित २६, ज्याकफ्रेजर म्याकगुर्कले २३ र पृथ्वी शाले ११ रनको योगदान दिए । 

गुजरातका लागि सन्दीप वारियरले तीन नूर अहमदले एक विकेट लिए । यस खेलमा गुजरातका अनुभवी तीव्र गतिका बलर मोहित शर्मा आइपिएल इतिहासकै महँगा बलर सावित भए । उनले दिल्लीविरुद्ध ४ ओभरमा बिनाविकेट ७३ रन खर्चिए । यो जितपछि दिल्ली अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । 

यो जितपछि दिल्लीको प्लेअफ सम्भावना जीवितै रहेको छ । उसले अहिलेसम्म ९ खेलबाट ८ अंक जोडेको छ । दिल्लीले अब पाँच खेल खेल्न बाँकी छ । दिल्लीसँगको हारपछि गुजरात तालिकाको सातौं स्थानमा झरेको छ । उसको पनि ९ खेलबाट ८ अंक छ ।  

  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार ६:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया