logo-img

राजस्थानको प्लेअफ यात्रा लगभग सुरक्षित, लखनउको फराकिलो हार

जारी संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा उत्कृष्ट लयमा रहेको राजस्थान रोयल्सले आठौँ जित हात पारेको छ । ९ खेल खेल्दा एक खेलमा मात्रै पराजित भएको राजस्थानले आठौँ जित निकाल्नेक्रममा शनिबार राति लखनऊ सुपर जायन्ट्सलाई ७ विकेटले हरायो ।

यो जितपछि राजस्थानको प्लेअफ यात्रा लगभग सुरक्षित भएको छ । आफ्नो नवौँ खेलमा लखनउले दिएको १ सय ९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि कप्तान सञ्जु सामसनले ३३ बलमा सात चौका र चार छक्कासहित अविजित ७१ रन बनाए । 

यस्तै, ध्रुव जुरेलले अविजित ५२, जोस बटलरले ३४, यशस्वी जैसवालले २४ र रियान परागले १४ रन जोडे । लखनउका लागि अमित मिश्रा, मार्कस स्टोइनिस र यश ठाकुरले एक/एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनायो । उसका लागि कप्तान केएल राहुलले ४८ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ७६ रन बनाए । 

यस्तै, दीपक हूडाले ५०, आयुष बडोनीले अविजित १५ र कृणाल पाण्ड्याले १५ रन जोडे । राजस्थानका लागि सन्दीप शर्माले दुई, ट्रेन्ट बोल्ट, आवेश खान र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए । 

यो जितपछि शीर्ष स्थानमा रहेको राजस्थानले ९ खेलबाट १६ अंक जोडेको छ । चौथो स्थानमा रहेको लखनउले ९ खेलबाट १० अंक जोडेको छ । उसले अहिलेसम्म पाँचमा जित र चार खेलमा हारको सामना गरेको छ ।    





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार ७:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया