logo-img

मधेस र गण्डकीका व्यवसायीबीच मितेरी सम्बन्ध

मधेस र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम छ । होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो । 

मधेस प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीको उपस्थितिमा भएको समारोहमा होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतम र  पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) गण्डकी पोखराका अध्यक्ष कमला गिरीले आपसी मित्रता, भ्रमण र अनुभव आदानप्रदान गरिने बताउँदै मितेरी सम्बन्ध कायम गरिएको घोषणा गरेका हुन् । 

गण्डकीबाट मधेसका पर्यटकीयस्थल अवलोकन र थप सम्भावनाबारे अध्ययन गर्न मधेस आएको गण्डकी टोलीको सम्मानमा होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले आयोजना गरेको सम्मान समारोहमा यो घोषणा भएको हो ।

समारोहमा पर्यटन व्यवसायी महिला सङ्घ गण्डकी पोखराका अध्यक्ष गिरीले मधेस धार्मिक पर्यटनको दृष्टिले उर्वर रहेको धारणा राखे । ‘यहाँ सप्तरीबाट पर्सासम्मका आठै जिल्लामा प्राचीन धार्मिक सम्पदा रहेछन्, यद्यपि तिनको समुचित  व्यवस्थापन हुनसकेको रहेनछ’, गण्डकीबाट २० सदस्यीय महिला व्यवसायीको नेतृत्व गर्दै मधेस आएकी अध्यक्ष गिरीले भनिन् ।

समारोहमा सरिक मधेस सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, श्रम तथा यातायातमन्त्री बेची लुङ्गेली र गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापाको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘अहिले आर्थिक वर्ष २०८१/८२ को बजेट तयारीको बेला छ, यस क्षेत्रमा मन्त्रीज्यूहरूको ध्यान पुगोस् ।’ 

समारोहमा उनले तीनैजना मन्त्री, होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश र होटल तथा पर्यटन व्यवसायी सङ्घलाई गण्डकी भ्रमणको निमन्त्रणा हस्तान्तरण गरे । 



मन्त्री भट्टराईले मधेसमा पर्यटन पूर्वाधारका काम योजनाबद्धरूपले अघि बढ्ने प्रतिबद्धता जनाए । यहाँका प्राचीनकालदेखिका जनमनमा स्थापित धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गरिने उनले बताए । रासस  



  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया