logo-img

चर्को दबाबबीच रोहितको कप्तानी इनिङ

हालै ओमानमा सम्पन्न एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि खेलाडी/समर्थक सबै निराश थिए । गत संस्करण च्याम्पियन नेपाल चौथो स्थानमा सीमित भएपछि खेलाडी र प्रशिक्षकको चर्को आलोचना पनि भयो ।

सबैभन्दा बढी आलोचना खेप्नेमध्येमा पर्छन्, कप्तान रोहितकुमार पौडेल । प्रिमियर कपमा राम्रो प्रदर्शन र कप्तानी गर्न नसकेको भन्दै समर्थकले उनको राजीनामा समेत मागिरहेका थिए । तर, तिनै कप्तान पौडेलले घरेलु मैदानमा जारी वेस्ट इण्डिज ‘ए’ सँगको पहिलो खेलमा आक्रामक शतकीय इनिङ खेल्दै समर्थकको आलोचनालाई केही मत्थर पारेका छन् ।

स्टार खेलाडीको बाहुल्य रहेको वेस्ट इण्डिजविरुद्ध रोहितले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । कुनै पनि देशविरुद्ध टी–२० मा प्रहार गरेको उनको यो पहिलो शतक हो ।

रोहितकै शतकको बलमा नेपालले क्यारेबियन टिमलाई ४ विकेटले स्तब्ध बनायो । विगतमा सुस्तरी खेल्ने गरेको भन्दै आलोचना खेपेका रोहितले वेस्ट इण्डिज ‘ए’ विरुद्ध भने विस्फोटक ब्याटिङ गरे ।



उनले यस खेलमा २०७.४० को सानदार स्ट्राइक रेटमा रन बनाए । ‘वान म्यान आर्मी’ को रूपमा प्रस्तुत भएका रोहितले वेस्ट इण्डिजका बलरलाई पूरै दबाबमा राखे । एसिया कपमा स्थान बनाउन नसकेर निराश भइरहेको अवस्थामा रोहितले बलियो टिमविरुद्ध सानदार ब्याटिङ गरेपछि खेलाडी र समर्थकमा केही उत्साह फर्किएको छ ।

नेपालले पहिलोपटक चारपटकको विश्वकप विजेता वेस्ट इण्डिजको ‘ए’ टिमसँग खेलिरहेको हो । उसको टिममा रहेका १५ मध्ये १२ खेलाडीसँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको राम्रो अनुभव छ ।



साथै, वेस्ट इण्डिजको टिममा रहेका केही खेलाडीले आइपिएल, बिबिएल, पिएसएललगायत विश्व चर्चित लिग पनि खेलिसकेका छन् । स्टार खेलाडीले परिपूर्ण वेस्ट इण्डिजको टिमलाई हराएपछि नेपाली टोलीको धेरैले खुलेरै प्रशंसा गरिरहेका छन् । नेपालले आसन्न आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप क्यारेबियन टिमसँग पाँच खेलेको टी–२० श्रृंखला खेलिरहेको हो ।

आउँदो १ जुनदेखि सुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ परेको छ । समूह चरणमा नेपालले ४ जुनमा नेदरल्याण्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका तथा १७ जुनमा बंगलादेशसँग खेल्नेछ । नेपाल १० वर्षपछि विश्वकप खेल्न लागेको हो ।       

  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार ११:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया