logo-img

वेस्ट इण्डिज ‘ए’ विरुद्ध नेपालको उत्कृष्ट सुरुवात, सागरले एकै ओभरमा लिए दुई विकेट

वेस्ट इण्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता पनि स्पिनर सागर ढकालले नै दिलाए । उनले २.५ ओभरमा जोनसन चार्ल्सलाई ११ रनमा बोल्ड गरे । पहिलो खेलमा उनी शून्यमै आउट भएका थिए ।

सागरले नै नेपाललाई पहिलो सफलता दिलाए । उनले तेस्रो ओभरको दोस्रो बलमा वेस्ट इण्डिज ‘ए’ का उपकप्तान एलिक एथेनाजेलाई ६ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए । पहिलो खेलमा एथेनाजेले २५ बलमा ४७ रनको पारी खेलेका थिए । उनलाई आज सागरले आफ्नो पहिलो ओभरको दोस्रो बलमै पवेलियन पठाए । 

नेपालले आज टस हारेर फिल्डिङको निम्तो पाएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले आज प्लेइङ–११ मा पाँच खेलाडी परिवर्तन गरेको छ । नेपालले दोस्रो खेलमा  विवेककुमार यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अविनाश बोहरा र ललितनारायण राजवंशीलाई विश्राम दिएर लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाललाई मौका दिएको हो । सिरिजमा नेपाल १–० ले अगाडि छ ।

नेपालले शनिबार पहिलो खेलमा पाहुना टिम वेस्ट इण्डिजलाई चार विकेटले हरायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतकीय इनिङ खेले । ५४ बलको सामना गरेका उनले १० चौका र ६ छक्काको मद्दतमा ११२ रनको इनिङ खेलेका हुन् ।

नेपाल आज पनि खेल जितेर सिरिजमा २–० को अग्रता लिन चाहन्छ । सिरिज जित्न नेपालले अब दुई खेल जिते पुग्छ । नेपाल पहिलोपटक घरेलु मैदानमा वेस्ट इण्डिज ‘ए’ सँग खेलिरहेको हो । यद्यपि नेपालले वेस्ट इण्डिजको सिनियर टिमसँग भने यसअघि नै खेलिसकेको छ । 

गत वर्ष जिम्बाब्वेमा आयोजित एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्ट इण्डिजसँग १०१ रनले पराजित भएको थियो । नेपाल यसपटक आउँदो १ जुनदेखि सुरु हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इण्डिज ‘ए’ सँग सिरिज खेलिरहेको हो ।





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १२:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया