logo-img

१६० रनमा रोकियो वेस्ट इण्डिज ‘ए’, सागर-कुशलको उत्कृष्ट बलिङ

टी–२० सिरिजको दोस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ बाट घरेलु टिम नेपालले १ सय ६२ रनको लक्ष्य पाएको छ । पहिलो खेलको तुलनामा नेपालले सामान्य लक्ष्य पाएको हो । शनिबार भएको खेलमा वेस्ट इण्डिजले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो । उसका लागि आन्द्रे फ्लेचरले ३६ बलमा तीन छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै, गुडाकेश मोतीले अविजित ३३, कप्तान रोस्टन चेसले २३, जोनसन चार्ल्स र म्याथ्यू बोर्डले ११/११ तथा केसी कार्टीले १० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । नेपालका लागि स्पिनरद्वय सागर ढकाल र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे । सागरले चार ओभरमा १९ रन मात्र दिएर महत्वपूर्ण दुई विकेट लिए । यस्तै, कुशलले ४ ओभरमा २२ रन दिएर दुई विकेट नै हात पारे । दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको नाममा एक/एक विकेट रह्यो ।  

नेपालले आज प्लेइङ–११ मा पाँच खेलाडी परिवर्तन गरेको छ । नेपालले दोस्रो खेलमा विवेककुमार यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अविनाश बोहरा र ललितनारायण राजवंशीलाई विश्राम दिएर लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकाललाई मौका दिएको हो । सिरिजमा नेपाल १–० ले अगाडि छ ।

नेपालले शनिबार पहिलो खेलमा पाहुना टिम वेस्ट इण्डिजलाई चार विकेटले हराएको थियो । यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले शतकीय इनिङ खेले । ५४ बलको सामना गरेका उनले १० चौका र ६ छक्काको मद्दतमा ११२ रनको इनिङ खेलेका हुन् । 

नेपाल आज पनि खेल जितेर सिरिजमा २–० को अग्रता लिन चाहन्छ । नेपाल आउँदो १ जुनदेखि सुरु हुने आइसिसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इण्डिज ‘ए’ सँग सिरिज खेलिरहेको हो ।





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार १३:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया