logo-img

सुहाङ नेम्वाङ : अधिवक्तादेखि संसदसम्मको यात्रा
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद यात्रा सुरु भएको छ । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद यात्रा सुरु भएको हो । एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उनको सांसद यात्रा प्रारम्भ भएको हो । 

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेर सुहाङ इलाम–२ लाई प्रतिनिधित्व गर्दै सांसद बनेका हुन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका थिए ।​ सुहाङको जन्म ६ फागुन २०४६ मा बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौंमा भएको थियो । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे ।

ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि अस्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर उनी नेपाल फर्किए । स्वदेश फर्केर उनले काठमाडौं स्कूल अफ लबाट कानुन सङ्कायमा बीएलएलबी, वाणिज्य कानुनमा एलएलएम अध्ययन पूरा गरे । सुवास आफू कानुन पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानुन नै पढाए । सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एन्ड रिसर्च सेन्टर’ स्थापना गरी  वकालत गर्दै आएका थिए ।

उनी राजनीतिभन्दा खेलकुदमा बढी लगाव राख्थे । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै जीवन बिताएका सुहाङ अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा हुने गरेका खेलकुद प्रतियोगितामा सहभागी हुन थाले । उनले खेलकुद क्षेत्रको विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरे । पछिल्लो समय उनी सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गरेका थिए । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेसाले अधिवक्ता सुहाङ सरल, शालीन र नरम स्वभावका छन् । 

वि.सं २०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैं केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए । यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनै पनि निर्वाचनमा मतदानसमेत गरेका थिएनन् । आफ्नै बुबा उम्मेदवार हुँदासमेत मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनले मतदान गर्न पाएका थिएनन् । 

राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाए पनि खासै रुचि भएका सुहाङलाई परिस्थितिले सांसद बनायो । तर, बुबाको सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि उनलाई पार्टीले टिकट दिलाएर सांसद बनाएको हो । सुहाङलाई सांसद बनाउनमा नयाँ सत्ता समीकरणले सहज बनायो । नेकपा (माओवादी केन्द्र), नेकपा र नेपाल परिवार दलको समर्थन पाएका नेम्वाङले कम उमेरमा नै संसद् छिर्ने अवसर पाएका छन् । 



शालीन एवं बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ । आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको नेम्वाङको भनाइ छ ।

उनी आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताउँछन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजना ल्याउने उनको भनाइ छ । हाल सुहाङ एमालेको कानुन विभागको केन्द्रीय सदस्य हुन् । उनका एक दाजु, एक दिदी र एक बहिनी हुन् । रासस 



  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया