logo-img

आइपिएल २०२४ मा मुम्बई इण्डियन्स किन देखियो कमजोर ?

१७औँ सिजनको आइपिएलअघि नै धेरै विश्लेषकले पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्सको प्रदर्शन यसपटक कमजोर रहने आकलन गरेका थिए । गुजरात टाइटन्स छाडेर हार्दिक पाण्ड्या मुम्बईको कप्तानमा नियुक्त भएपछि विश्लेषकले उक्त आकलन गरेका थिए ।  

विश्लेषक र समर्थकको धारणा थियो– ‘मुम्बईमा खेलाडी कमजोर छैनन्, तर, यसपटक टिम एकजुट छैन । त्यसले प्रदर्शनमा प्रभाव पर्नेछ ।’ मुम्बई इण्डियन्सको ताजा अवस्था हेर्दा समर्थक र विश्लेषकको भविष्यवाणी मिलेको अनुभूति भइरहेको छ । पटकपटक ट्रफी चुमेको मुम्बईले यसपटक भने न समर्थकको मन जित्न सकेको छ नत उपाधि जित्ने संकेत नै देखाएको छ । बरु ऊ महत्वपूर्ण समयमा खराब लयबाट गुज्रिरहेको छ ।

गत सिजनमा १६ अंकका साथ प्लेअफको यात्रा गरेको मुम्बई जारी संस्करणमा भने १० खेल खेल्दा नवौँ स्थानमा छ । र, उसले अहिलेसम्म तालिकामा ६ अंक मात्र जोडेको छ । अहिलेको अवस्थामा मुम्बईको प्लेअफ सम्भावना लगभग समाप्त भएको छ । अब उसले चार खेल खेल्न बाँकी छ । चारवटै खेल जिते पनि मुम्बईको कुल १४ अंक मात्र हुनेछ । लयमा फर्किन संघर्ष गरिरहेको मुम्बईले चारवटै खेल जित्छ भनेर खेलाडी/समर्थक त्यति विश्वस्त छैनन् । 

उसामु अब बाँकी खेलमा राम्रो प्रदर्शन गरेर आगामी सिजनको तयारी गर्नुको अरू विकल्प देखिँदैनन् । जारी संस्करणमा मुम्बईका लागि तीव्र गतिका बलर जसप्रित बहुराहले मात्र उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पर्पल क्याप दौडको शीर्ष स्थानमा रहेका उनले १० खेलमा १४ विकेट लिएका छन् ।



ब्याटिङतर्फ भने मुम्बईका कुनै पनि खेलाडी शीर्ष नौभित्र छैनन् । यसले पनि पुष्टि गर्छ कि अहिले मुम्बईका दिन खराब चलिरहेका छन्, मुम्बईले सही बाटोमा यात्रा गर्न नसक्नुमा कप्तान हार्दिक पाण्ड्याको खराब प्रदर्शन पनि हो । उनले १० खेलमा १९७ रन मात्र बनाएका छन्, त्यसक्रममा पाण्ड्याको ब्याटबाट एउटा पनि अर्धशतक निस्किन सकेन । बलिङतर्फ जारी सिजनमा उनले ६ विकेट लिएका छन् ।  



गुजरातलाई डेब्यू कप्तानीमै च्याम्पियन बनाएको देखेपछि अम्बानी परिवारले हार्दिकलाई महँगो मूल्यमा मुम्बईमा कमब्याक गरायो । तर, गुजरात छँदा नाम कमाएका उनले मुम्बईमा पुनरागमन गर्दा भने आलोचक बढी कमाए ।

सुरुवाती खेलमा हार्दिकलाई मुम्बईको कप्तानी गर्न निकै सकस परेको देखिन्थ्यो । उनको कप्तानीमा खराब नतिजा निस्किएपछि मुम्बईले आउँदो सिजनमा टिममा व्यापक परिवर्तन गर्ने सम्भावना बढेको छ ।    

  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार १३:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया