logo-img

आइजिपी कुँवर स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन भएको ‘१९औँ हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालका तर्फबाट सहभागी भई आज स्वदेश फर्किएका छन् ।  

उनी यही वैशाख ११ देखि १३ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा नेपालका तर्फबाट सहभागी भएका थिए । हेड अफ एनसिबी कन्फरेन्समा मुख्यरुपमा इन्टरपोल एनसीबीः अन्तर्राष्ट्रिय सङ्गठित अपराधको खतराविरुद्ध संयुक्त मोर्चालगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १ सय ९६ सदस्य राष्ट्रका एनसीबी प्रमुख, इन्टरपोल महासचिव तथा पदाधिकारीबिच समन्वय एवम् सहकार्यका विषयमा छलफल भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

उनका अनुसार सदस्य राष्ट्रबीच आइ–२४–७ मा पहुँच विस्तार गर्दै थप आपराधिक डेटा साझेदारी गरेर आपराधिक प्रक्रिया रोक्न, बालबालिकाको सुरक्षा र डेटा सुरक्षा बढाउँदै लैजानेलगायत ‘एजेन्डा’मा छलफल तथा सहमति भएको थियो ।

राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) नेपालका प्रमुख रहेका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदानप्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको क्षमता निर्माण एवम् पारस्परिक सहयोग आदानप्रदानका विषयमा भारत, चीन र मलेसियाका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्नुभएको बताइएको छ । 





  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार १५:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया