logo-img

सञ्चारमन्त्री शर्माको दाबी- प्रेस स्वतन्त्रताको संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ
फाइल फाेटाे

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविना लोकतन्त्र पूर्ण हुन नसक्ने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई संरक्षण र कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा आज शुभकामना दिँदै मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविना लोकतन्त्र पूर्ण हुन नसक्ने बताएकी हुन् । मन्त्री शर्माले प्रेस स्वतन्त्रतालाई थप सुनिश्चित गर्न सरकारले एक वर्षदेख सञ्चारसँग सम्बन्धित कानुन निर्माण तथा पुनरावलोकनको काम गरिरहेको जानकारी दिएकी छन् । 

मन्त्री शर्माले भनेकी छन्,‘सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको राय सुझावका आधारमा कानुनको मस्यौदा गर्ने, त्यसमाथि सरोकारवाला र आम नागरिकको राय सुझाव समेत लिएर पारदर्शी र लोकतान्त्रिक विधिबाट कानुन निर्माण गर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको छ ।’ 

यस्तै आम सञ्चार क्षेत्रको स्वनियमन प्रवर्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक संघीय संसदमा दर्ता भैसकेको र आम सञ्चार विधेयक पनि पूर्वविधायिकी चरण पूरा गर्ने प्रक्रियामा रहेको उल्लेख गरेकी उनले प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सरकार दृढ रहेको चर्चा गरेकी छन् । 

‘प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा पनि सरकार दृढ छ । प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटल लगायतका चुनौती कम गर्न राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने नागरिकले सत्य सूचना जान्न पाउने अधिकार स्थापित गर्न साइबर सचेतनाका कार्यक्रममा जोड दिइएको छ,’मन्त्री शर्माले भनेकी छन् । 

प्रेस स्वतन्त्रताको लागि क्रियाशील राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट हेरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग कुनै पनि खालको सम्झौता नगर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार ८:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया