logo-img

धान लगाउने खेतमा लटरम्म खरबुजा, लोभलाग्दो आम्दानी

बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरिरहेका छन् । 

करिब तीन बिघा जग्गा भाडामा लिएर  तरकारी खेती गर्दै आएकामा उहाँले यस पटक खरबुजा फलाएका छन् । ‘पहिला तरकारी लगाउने गर्थेँ, बजार नपाएपछि  खरबुजा लगाएँ, प्रशस्त आम्दानी भएको छ’, उनले भने । 

वरपर कतै चैते धान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेला खेती गरेकामा यस पटक खरबुजा लगाएर सफल भएको महतोले बताए। सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताए । 

चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उनले भने । ६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनले बताए । 

आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताए । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिक जसो दुई क्विन्टल बिक्री हुने गरेको उनले बताए  ।

‘यसलाई खासै औषधि हाल्नुपरेन, प्राङ्गारिक मल नै धेरै प्रयोग गरियो, उत्पादन पनि सोचेभन्दा धेरै भयो, स्थानीय उत्पादन भनेपछि बारीबाटै किनेर लैजाने धेरै हुन्छन्’, उनले भने । खरबुजा खेतीमा खासै खर्च र मेहनत गर्नु नपरेको उनले बताए । 



रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष  बिताउनुभएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिएका छन् । कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहेका उनी विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लागेका हुन् । ‘रोजगारीका लागि  विदेश नै जानुपर्छ भन्ने छैन । कृषिकर्मबाट पनि कमाउन सकिन्छ’, उनले भने । 



  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १०:५६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया