logo-img

अवैध आयातले सङ्कटमा कुखुरापालन : व्यवसायी भन्छन्- ‘बजारमा प्रतिस्पर्धा गर्न सकेनौँ’
फाइल तस्बिर

सरकारी जागिर छाडेर उद्योग सञ्चालन गरेका रामेछापका व्यवसायी व्यवसाय खस्केपछि चिन्तित बनेका छन् । नेपाली सेना, शिक्षक, सव–ओभरसीयरको जागिर छाडेर स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ व्यवसाय थालेका उनीहरू पछिल्लो समय व्यवसाय सञ्चालन गर्न असमर्थ छन् । 

रामेछाप नगरपलिका–८ बिटारमा स्थानीय रुद्र श्रेष्ठ, भरतकुमार श्रेष्ठ र विश्वास श्रेष्ठले मिलेर कुखुरापालन सुरु गरेका थिए । तीनैजनाले संयुक्त रुपमा रु सात करोड ५० लाखको  लगानीमा ‘नेशनल ब्लिडिङ प्रालि’ सञ्चालन गरेका थिए । बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि उनीहरू चिन्तामा छन् । 

‘उत्पादन भएका कुखुराका चल्ला बिक्री हुन छाडे’, उद्योग सञ्चालक भरतकुमार श्रेष्ठले भने । एक दशक अघि व्यवसाय सुरु गर्दा चल्लाले राम्रै बजार पाएको उनले बताए । त्यसपछि उत्साहित हुँदै लगानी थपेर पनि कोरोना महामारीपछि व्यवसाय खस्कँदै गएको श्रेष्ठ बताउँछन् । 

‘अहिले भारतबाट कर छली गरी ल्याइएका सस्तो मूल्यका चल्ला बिक्री भइरहेका छन्, यसले स्थानीय उत्पादन विक्री वितरण धारासायमा परेको छ’, उनले भने । व्यवसाय गर्न सरकारी निकायबाट कुनै पनि सहयोग प्राप्त नभएको ब्याज बैंक तथा सहकारी संस्थालाई तिर्नुपर्दा हैरानी भएको अर्का सञ्चालक रुद्र श्रेष्ठले बताए । चल्ला व्यवसायी सङ्घले प्रतिचल्लाको मूल्य ८५ कायम गरे पनि ६५ रुपैयाँसम्ममा समेत बेच्नु परेको उनको भनाइ छ । 

चल्ला उत्पादन गर्न कम्तीमा २१ दिन लाग्छ । सबै खर्च कटाउँदा एउटा चल्ला उत्पादन गर्न ५० देखि ५५ रुपैयाँसम्ममा खर्च हुने गरेको श्रेष्ठले बताए । सरकारी निकायले सहयोग नगरेकाले आफुहरु यो व्यवसाय छाड्न बाध्य हुने अवस्था आएको उनको भनाइ छ । 

मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले युवा उद्यमीलाई आफूले बैंकसँग समन्वय गरेर बिना धितो ऋण दिलाएको बताए । १ सय ७० युवा उद्यमीलाई तालिमसमेत दिएको तर त्यसको सदुपयोग खासै नभएको उनको भनाइ छ । उद्योगी र स्थानीय सरकारको साझेदारीमा अझै लगानी गर्न  सकिने नगर प्रमुख श्रेष्ठ बताउँछन् । रासस 





  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १७:१५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया