logo-img

कृत्रिम बौद्धिकताले मानव जीवनमा कस्तो प्रभाव पार्दैछ ?

हामीले प्रयोग गर्ने कलम, कम्प्युटर, प्रिन्टरलगाायत सबै मेसिन नै हुन् । समयको परिवर्तनसँगै मेसिनको आकार र क्षमतामा विकास भइरहेको छ । मानिसले प्रयोग गर्ने भाला, खुकुरी वा बन्चरो जो बल र गतिको माध्यमबाट मानिसले चाहेको काम सहज गरिदिन्छ, यी पनि मेसिन नै हुन् । 

मेसिनको विकासक्रमले मानिसको जीवनशैलीमा सहजता थपिएको छ भने मेसिनले पनि उत्कृष्ट सेवा प्रदान गर्न मेसिनमा कृत्रिम बौद्धिकता (एआई) समेत प्रयोग हुन थालेको छ । कृतिम बौद्धिकतासमेतको मेसिनको प्रयोगले मानव जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । समग्र समाजको विकासमा मात्र नभइ स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रमा एआईले पुर्‍याएको उपलब्धि २१ औँ शताब्दीको प्रविधि विकासको क्षेत्रको ठूलो उपलब्धि हो । 

मेसिनको विकासक्रमलाई बढो सचेत तबरले नियाल्दै र आफूलाई अझ मेसिनमैत्री बनाउन आजका मानिसका लागि अपरिहार्य भइसकेको छ । यसले मानिसलाई मेसिन जति नै फुर्तिलो बनाउनुपर्ने बाध्यता थप्दै पनि गएको छ । प्रविधिका कारण जीवन जति सहज भएको छ, त्यति नै प्रविधिको उपयोगको लतले हामीमा विभिन्न समस्या पनि सिर्जना गर्दै गइरहेको छ । मोबाइल आउनुभन्दा पहिले धेरै साथीभाइका टेलिफोन नम्बर हामीलाई स्मरण हुन्थ्यो । आजभोलि हजारौं नम्बर मोबाइलमा भण्डारण गरेर राखेका हुन्छौं । यसले ती टेलिफोन नम्बरहरू खोजेको बेलामा मेसिनमार्फत उपलब्ध हुन्छ । तर, पहिलेजस्तो हामीले स्मरण गरिरहेका हुँदैनाैँ । यसबाट एउटा शङ्का उत्पन्न भएको छ कि कतै हामी हाम्रो स्मरण क्षमतामा हस ल्याइरहेका त छैनौँ ? मेसिनको प्रयोगले हाम्रो स्वास्थ्यमा प्रभाव परेको त छैन ? यी र यस्ता विषयवस्तु जनस्तरमा छलफल गर्नुपर्ने बेला भइसकेको छ । केही समय अगाडि केहीबेर मात्र फेसबुक उपयोग गर्न नपाउँदा हामी प्रविधिको लतमा फसेका छौँ कि भन्ने पनि देखियो । 

विद्युतको आपूर्ति केही समयका लागि मात्र रोकिने हो भने हामीले प्रयोग गर्ने मेसिनमा धेरै नै प्रभाव पर्छ । त्यसबाट हाम्रो जीवनशैलीमा प्रभाव पर्ने निश्चित छ । त्यसैले मेसिन तथा प्रविधिको प्रयोगमा मानिस सचेत हुनु जरुरी छ । मेसिन नै प्रयोग नगरौँ भन्ने त होइन तर मेसिनमा सामेल एआईले हामीलाई थाहा नपाउँदो तरिकाले मेसिन प्रयोगको लत बिसाइरहेको छ । आउँदा दिनमा झन् धेरै उच्चतम प्रविधि सामेल भएका मेसिन बन्दै छन् र बजारमा सहज उपलब्ध हुने अवस्था छ किनकी हरेक देशले आफ्नो उन्नतिलाई मेसिनको विकासक्रमसँगै गाँसेका छन् । आजका दिनमा संरा अमेरिका, चीन, ताइवान, जापान, जर्मनी, इजरायल, रसियालगायतका देशले नयाँ–नयाँ प्रविधिको आविष्कार गरेर प्रविधिको उच्चतम प्रयोग गरी विकास गरिरहेका छन् । यद्यपि, इतिहासमा एसिया विकासमा धेरै अगाडि थियो । एसियाभन्दा झण्डै एक हजार वर्षपछि मात्र युरोपेली नागरिक नयाँ–नयाँ आविष्कारमा लागेका देखिन्छन् । 

तपाईंले नाडीमा बाँधेको घडीले प्रेसर उच्च भएको छ औषधि खानुभयो भनेर एकाएक बाटोमा हिँड्दै गर्दा तपाईंको मार्ट घडीले सन्देश प्रवाह गर्दै गर्‍यो भने एआई तपाईंले प्रयोग गरेका कारण तपाईंको स्वास्थ्यप्रति चिन्ता देखाइरहेको छ भन्ने मेसिनको सामर्थ्य हो र त्यो नै आजको विकसित मेसिन हो ।

अबका दिनमा हामी संसारसँग कसरी सूचना तथा सन्देश आदानप्रदान गर्छाैँ भनेर एआई, पाइभ जी, ब्लकचेन, एआर, भिआर, क्यान्टम कम्प्युटिङ र लटजस्ता प्रविधिले निर्धारण गर्ने छन् । जोन म्याक् कार्थीलाई हामीले कृत्रिम बौद्धिकताको जननी भन्न सक्छौँ । कृत्रिम बौद्धिकताको अन्वेषण अलेन टुरिङ, मार्भिन मिस्काई, अलेन नेवेल र हर्बट ए समेतको संलग्नतामा भएको हो । 



स्मार्ट भन्ने शब्दको मेसिन प्रयोग गर्दै हुनुहुन्छ भने तपाई एआई प्रयोगकर्ता हो । घण्टी लाग्ने घडी आज परिष्कृत भएर निद्राबाट ब्यूँझाउँदै गर्दा बाहिर पानी परिरहेको छ र तपाईं सधैँजसो अफिस जाने बाटोमा पुल भत्किएको छ, तपाईंले वैकल्पिक मार्ग प्रयोग गरी जाँदा  एक घण्टा थप समय लाग्छ भनेर सन्देश प्रवाह गर्न थालिसकेको छ । त्यो स्मार्ट अर्लाम भनेको एआई  हो । तपाईंले नाडीमा बाँधेको घडीले प्रेसर उच्च भएको छ औषधि खानुभयो भनेर एकाएक बाटोमा हिँड्दै गर्दा तपाईंको मार्ट घडीले सन्देश प्रवाह गर्दै गर्‍यो भने एआई तपाईंले प्रयोग गरेका कारण तपाईंको स्वास्थ्यप्रति चिन्ता देखाइरहेको छ भन्ने मेसिनको सामर्थ्य हो र त्यो नै आजको विकसित मेसिन हो । अनलाइन सपिङका लागि ब्राउजिङ गर्दैगर्दा ब्राउजिङ र यसअघिको सामान खरिदको सूचीको आधारमा तपाईंलाई मन परेका र छनोट गर्दै गरेका सामानहरू नै लगातार तपाईंलाई देखाइरहन्छ, त्यो पनि एआई हो । यसबाट तपाईंको समय सदुपयोग भएको छ ।

हामीलाई मेसिनले आर्थिक कारोबार, स्वास्थ्य सेवा यहाँसम्म कि चलाउने मोटरगाडी समेत एआई प्रविधिबाट नै प्रत्येक क्षण सघाइरहेका हुन्छन् । कुन कम्पनीको शेयर किन्ने वा शरीरको तौल दुरुस्त राख्ने, डाक्टरले दिएको निर्देशनअनुसार विभिन्न पद्धतिमध्ये कुन समयमा के गर्नु ठीक होलासम्म भन्ने कुरा एआईले नै मार्गदर्शन गरिरहेको अवस्था छ । हामीले जति परिष्कृत एआई प्रयोग गर्दै जान्छौँ, त्यति नै थप सेवा तथा सुविधा दिन मेसिन सबल हुनेछ ।



यसरी निर्माण गरिने मेसिनलाई मानिसकै विभिन्न रुपमा निर्माण गरी अहिले मोडेल, समाचार प्रस्तोता समेत बनाइसकेको अवस्था छ । सुरुका दिनमा सिन्हवा समाचार समिति र  सोगोउ अफ चाइनाले समाचार रिपोर्टिङ उद्देश्यका लागि एआई विकास गरेका थिए । छिमेकी देश भारतमा ‘सना’ नामको एआई समाचार बाचिका प्रख्यात कार्यक्रम प्रस्तोता रोबर्ट हो । एआईले आफूलाई मन पर्ने मानिसका लागि कविता लेखिदेउभन्दा लेखिदिने अवस्थामा हामी पुगेका छौँ भने फिडब्याकका आधारमा एआई आफैँ परिष्कृत समेत बन्दै जान्छ, पत्रकार, कवि, लेखक, कलाकार सबैलाई एआईले सहयोग पुर्‍याइरहेको छ ।

समय परिवर्तन गतिशील छ, गतिलाई प्राविधिक पाटोबाट नियाल्दा काल, गुरुत्वाकर्षण र स्पेस जस्ता आयामबाट बुझ्न सहज हुन्छ । सामाजिक परिवेशमा परिवर्तन प्रायः जसो सकारात्मक हुन्छन् र त्यसबाट प्रलय वा अनिष्टको अवस्थामा बाहेकमा सिर्जनशीलतासमेतको विकास हुँदै जान्छ । ढुङ्गे युगको सूचना तथा सञ्चारको आदानप्रदान अत्यन्तै सीमित कोडहरूवाट हुन्थ्यो भने सङ्केत विकास हुँदै जाँदा लिपिवद्वताले लेखन कला विकास भएको थियो । यस क्रमबाट नै भाषा र भाषिकाहरूले सङ्ग्रहित हुन पाए । तर हरेक परिवर्तनमा प्रविधि नङ्ग र मासुजस्तै अन्तनिहित रहे । 

मानव जीवनशैलीमा विज्ञान र प्रविधिकै कारण यो स्थानसम्म आइपुगेको हो । हामीले अडियो, भिडियोमार्फत सूचना आदानप्रदानको एक युग पार गरिसकेका छौँ । हरेक कुराको विकास भनेको सूचना तथा सञ्चारमा समृद्ध समाज हो । कुनै पनि परिवर्तन सूचना सञ्चारको यथेष्ट प्राप्तिबाट हुने गर्छ । सञ्चार जगतको मूल्यमान्यता मर्यादित बनाउन सकेनौँ भने यसबाट समाजको विकास हुन सक्दैन । त्यसैले सञ्चार उद्यमी, सञ्चारकर्मी, मूलधारका सञ्चार उद्योगहरू जिम्मेवार छन् रहन्छन् र रहनु पनि पर्दछ ।

पर्चा छरेर, भित्तेलेखन गरेर त्यसपछि माईकिङ गर्दै सन्देश प्रवाह गरेर विश्वभरि राजनीतिक परिवर्तन भएका छन् । सूचना नै शक्ति हो भन्ने आज स्थापित भइसकेको छ । अहिले हामी विभिन्न कला, पम्पलेट, पोस्टर, पत्रपत्रिका, हुँदै रेडियो प्रसारण, दूरदर्शन प्रसारण र इन्टरनेटको विकासक्रम सम्म पुगिसकेका छौँ ।

आउँदो दशक हामी इन्टनेट ब्रोडकास्टिङ्गमा नै केन्द्रित हुनेछौँ । हामी आन्तरिक सञ्चारलाई प्रविधिमार्फत विश्वव्यापीकरण गरिसकेका हुनेछौँ । एलन मस्कको न्युरालिङ्कले विकास गर्दै गरेको विसिआई प्रविधिलाई मानव हितको मूल्य मान्यतामा प्रयोग गर्दा संसारका सबै मानिस एउटै सर्भरमा गाँसिने निश्चित छ । मानव शरीर पनि अनगिन्ति ट्रान्समिटर र रिसिमर भएको वायलोजिक संयन्त्र हो । यो संयन्त्रमा विसिआई प्रयोग गरेपछि हाम्रो मष्तिष्कको हरेक गतिविधि रेकर्ड गर्ने र त्यसलाई प्रयोग गर्ने क्रमको सुरुआत हुनेछ । यी नयाँ सूचना तथा सन्देशहरू यदि इन्टरनेटमार्फत हामीले लिङ्क र शेयरको अधिकार सुनिश्चित गर्ने विश्वव्यापी कानुनको निर्माण गर्न सक्यौँ भने सूचना तथा सञ्चारका अहिले हामीले उपयोग गरिरहेका प्रविधिमा विश्वका करिब आठ अर्ब मानिसको बौद्धिकता एकापसमा सङ्गठित हुनेछ । यो अनौठो र अद्वितीय नेटवर्किङले आउँदो दशकमा सूचना तथा सञ्चार आदान प्रदानको उच्चतम बाटो खाल्ने छ भने सूचना संकुचन गर्ने अवस्था रहने छैन ।  

(लेखक ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का केन्द्रीय अध्यक्ष हुन्)
 

  • प्रकाशित मिति : वैशाख २१, २०८१ शुक्रबार १७:५०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया